२०२४ मा १ सय ९७ देशका पर्यटक आए, छैन सिमामा पर्यटनमैत्री वातावरण

भैरहवा । स्थलमार्ग भई सबै भन्दा बढि पर्यटक आवगमन हुने नाका रुपन्देहीको बेलहियाबाट सन् २०२४ मा १ सय ९७ देशका ९२ हजार ६ सय ४४ पर्यटक आएका छन । कोभिड अगाडि यहाँबाट वार्षिक ३ लाख पर्यटक आएको तथ्यांक भएपनि पुरानै अवस्थामा फर्के पनि आगमन सन्तोषजनक छैन । शुन्य अवस्थामा पुगेको पर्यटकको अवस्था विस्तारै बढ्न थालेपछि पर्यटन व्यवसायीमा उत्साह थपिएपनि सोचेअनुरुप नबढ्दा राज्य दोसी देखिन्छ । केही समय सुनसान रहेको बिदेशी पर्यटकको आगमन अहिले केही बढेको छ । बुद्ध जन्मस्थल लुम्बिनी अवलोकन र दर्शनका लागि अधिकांस पर्यटकहरु यो नाका हुदै नेपाल भित्रिएर अन्य पर्यटकीय गनतव्यहरुमा पनि जाने गरेका छन ।
पछिल्लो समय यो नाकामा पर्यटनमैत्री वातावरण नभएपनि पर्यटकहरु सास्ती खेपेर नै नेपाल आउने गरेका छन । सिमामा हुने सुरक्षाको नाममा सास्ती, अध्यागमनमा ढिलो प्रक्रिया, अव्यवस्थित सिमाका पुर्वाधार र पर्यटकमाथि हुने मानवीय व्यवहार मैत्रीपुर्ण नभएकोले सोचे अनुरुपको पर्यटक भित्रिन नसकेको हो ।
लुम्बिनीलाई आधार मानेर यस प्रदेशलाई पर्यटनको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश बनाउने सरकारको नारा रहेपनि नेपाल प्रवेश गर्ने ढोकैमा देखिने यस्ता दृष्यले उत्साह बोकेर नेपाल घुम्न आउने पर्यटकको मन खिन्न हुने गरेको छ ।
ठुलो संख्यामा पर्यटक भित्रिने नाका व्यवस्थित गर्न भने कसैको ठोस योजना नै देखिदैन् । पर्यटकको बसाई धेरै भन्दा धेरै गरी अत्यधिक मात्रामा पर्यटक भित्रयाउने रहेको भए पनि पर्यटकहरुले नेपाल बसाईको क्रममा सहजता हुने किसिमले पाउने सूचना बारे सम्बनिधत निकाय नै मौन छन ।
“सिमाको पाइलापिच्छे चेकिङ र पर्यटकमाथि भएको व्यवहारले पनि यो नाकामा पर्यटक आउने माहोल छैन । म श्रीलंकाबाट आएको र यहाँ नियमित रुपमा पर्यटक लिएर आउने गरेपनि यहाँ पुर्वाधार र व्यवहार पर्यटन मैत्री नपाएको “ श्रीनिवास पल्लिले भने । “हामीलाई अर्को ग्रहबाट आएको व्यवहार बोर्डरमा हुन्छ, बुद्धको देशमा आएको जस्तो अनुभूति नै छैन, यहाँ सुमधुर स्वागत सहितको आतिथ्यता हुन जरुरी रहेको पल्लीले भने । “
लुम्बिनी मात्रै होइन नेपालमा धेरै मनोरम ठाउँ छन । धार्मिक, सास्कृतिक र प्राकृतिक रुपमा नेपाल धेरै सम्भावित ठाउँ भए पनि सिमामा भएको स्वागतले नै मन खिन्न बनाउछ भारतको देवरियाबाट आएका सोनुले भने । उनी भन्छन “सुनौलीबाट निस्केकि अस्तव्यस्त बेलहियामा गेट छ, अध्यामनमा पनि सिमित जनशक्ति भएरहोला लामो लाईन, त्यसमाथि केही सुविधा पर्यटकलाई त्यहा छैन, बाटोको अवस्थानै सिस्टममेटिक छैन, भन्सारमा पनि दलालले तानातान गर्छन । “
उनी भन्छन “भन्सारबाट जसो तसो निस्के सुरक्षाको नाममा भारतिय गाडी पटक पटक चेकिङ गरेर हैरानी दिईन्छ । केही दिन पहेलो कार्ड लागू गरेर रुपन्देहीमा चेकजाँच नहुने भनेपनि अहिले त्यो कार्ड पनि दिन हटाईएको छ । लुम्बिनी सम्म पुग्दा ५ ठाउमा हाम्रै गाडी चेक भएर फर्केको उनी भन्छन । अनि कसरी भन्ने नेपाल फर्केर आउ। “
अहिलेको समय पर्यटकको लागि सिजन हो । सिजनमा नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्या बढ्दा भिसा लगाउन र नेपालबाट बाहिरिने पर्यटकलाई डिपार्चरको प्रमाणिकरण दुर्त गतिमागर्न अध्यागमन कार्यालय बेलहियाले सकेको छैन । कर्मचारीको अभावले केही महिना यता ढिलाइ हुँदै आएको कार्यालयले स्विकार गर्छ । अध्यागमन कार्यालय बेलहियाका प्रमुख नारायणप्रसाद पाण्डेले सेवा लिन आउने पर्यटकको तुलनामा कार्यालयमा उपलब्ध जनशक्ति कमी रहेको र एकै पटक धेरैजना पर्यटक आइपुग्दा केही समस्या हुने गरेको बताउँछन् ।
कहिलेकाही १५ सय भन्दा धेरै पर्यटक एकैदिन आइपुग्छन् । कार्यालयमा प्रमुखसहित पाँच जनामात्र कर्मचारी छन् । एकजना कर्मचारीले दैनिक १४ घण्टासम्म सेवा दिनु परेको छ । चारवटा डेस्कबाट सेवा उपलब्ध गराइएको छ । सवै प्रक्रिया पुगेको पर्र्यटकलाई भिसा दिँदा एकजनालाई सरदर १ मिनेट र डिपार्चलका लागि करिव आधा मिनेटमा सेवा दिनेगरेको प्रमुख पाण्डेले भने
सेप्टेम्बरपछि लुम्बिनी आउने पर्यटकको सिजन सुरु हुने भएकाले अत्यधिक पर्यटकको आगमन हुने र बेलहिया नाका हुँदै प्रस्थान गर्ने पर्यटकको संख्या पनि उत्तिकै हुने भएकाले अध्यायमगन कार्यालयमा लगभग दिनहुँ पर्यटकको भीड लाग्ने गरेको छ । पर्यटनको संख्याको तुलनामा काम गर्ने जनशक्तिको कमी हुँदा पर्यटक सेवा लिनका लागि घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता छ।
यस नाकाबाट बिशेषगरि लुम्बिनीका लागि बुद्धिष्ट मुलुकका पर्यटक भारत हुँदै नेपाल आउने गर्छन् । सामान्यतया सेप्टेम्बरपछि पर्यटक आउने सिजन सुरु हुन्छ । मुख्यतः श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम र दक्षिण कोरियाका पर्यटकको आगमन यश नाकाबाट बढि हुन्छ ।
अध्यागमन कार्यालय, बेलहियाको तथ्यांकअनुसार सन् २०२४ मा यस नाकाबाट नेपाल आउने तेस्रो मुलुकका पर्यटकको संख्या ९२ हजार ६ सय ४४ छ भने ९३ हजार २ सय ९० पर्यटक यस नाकाबाट बाहिरिएका छन् । यस नाकाबाट सर्वाधिक २६ हजार ५ सय ७७ जना श्रीलंकन छन् । त्यसपछि थाइल्याण्डबाट २१ हजार ३ सय ९७, म्यान्मारबाट ११ हजार ४ सय २२, भियतनामबाट ७ हजार ४ सय ८४, दक्षिण कोरियाबाट ३ हजार ८ सय ४ र अमेरिकाबाट २ हजार ६ सय ८० जना छन् ।
मुख्यताया यि देशका पर्यटकहरुको संख्या गत वर्ष यो अवधिमा आएका पर्यटक भन्दा धेरै हो । सन् २०२३ मा यो नाकाबाट ८१ हजार ५ सय ५१ जना विभिन्न देशबाट आएका थिए भने ७८ हजार ४ सय २३ जना प्रस्थान गरेका थिए । जसमा साउथ कोरियाको ५ हजार १६, म्यानमारको ११ हजार ७ सय ८५, श्रीलंकाको १८ हजार ४ सय ६०, थाइलैण्डको १७ हजार २ सय ३०, भियतनामको ९ हजार ८ सय पर्यटक आएको अध्यागमन कार्यालयका प्रमुख नारायण प्रसाद पाण्डेले बताए ।
यहाँ आउने पर्यटकको मुख्य गन्तब्य बुद्धजन्मस्थल लुम्बिनी, कपिलबस्तु र रामग्राम तथा केहीको नेपालका पर्यटकीय गनतव्य र हिमाली जिल्लाहरु हुने गरेको अध्यागमन कार्यालयले जानकारी दिएको छ ।
सन् २०२४ मा यस नाकाबाट आएको यो पर्यटकको संख्या बिगत पाँच बर्षपछिको सर्वाधिक हो । सुनौली–भैरहवा नाका स्थलमार्ग हुँदै सर्वाधिक पर्यटक नेपाल भित्रिने गरेको मुख्य नाका हो । पर्यटक आवागमनको हिसावले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको मुलुककै दोस्रो ठूलो हो ।
सन् २०१९ मा १ लाख ६१ हजार ६ सय १९, सन् २०२० मा ४३ हजार ३ सय ६७, सन् २०२१ मा ८ सय १२, सन् २०२२ मा २० हजार २ सय २० र सन् २०२३ मा ८१ हजार ५ सय ५१ पर्यटक आएको कार्यालयका सूचना अधिकृत पुकार श्रेष्ठले भने ।
यस नाकाबाट आउने अधिकांश पर्यटकको मुख्य गन्तव्य लुम्बिनी हो । त्यसपछिको गन्तब्य पाल्पा, पोखरा, मुक्तिनाथ, काठमाडौं, सौराहा हुन् । मुख्य गन्तब्य स्थल लुम्बिनीमा पर्यटकको बसाइँ अवधि बढ्न सकेको पाइँदैन । अधिकतम २ रात भन्दा बढी पर्यटक बस्न सकेका छैन । अधिकांस पर्यटक सोही दिननै फर्किने गरेको सुचना अधिकारी श्रेष्ठले भने । ‘पासपोर्ट होल्डरहरु दश प्रतिशत हाराहारीमा उही दिन फर्किने गरेको छ, उनीहरू लुम्बिनीमा पाइला टेकेर त्यहीबाट फर्कने गरेका छन् ।’
खर्चिलो मध्येको भारतिय पर्यटक पनि एक हो जुन यो नाकाबाट अधिक आगमन हुन्छ तर, भारतीयहरुलाई भिसा लगाउन नपर्ने भएकाले उनीहरुको तथ्यांक अध्यागमनले राख्दैन ।
यता स्थलमार्गहुदै सबै भन्दा बढी पर्यटक भित्रयाउने बेलहिया नाका भएपनि पर्यटक सूचना केन्द्र अव्यवस्थित हुदा पर्यटकहरुले सास्ती खेप्नु परेको छ । पर्यटकका लागि जिल्लाकै एकमात्र पर्यटक सूचना केन्द्रमा कर्मचारी र आवश्यक पूर्वाधार नहुदा पर्यटकले सास्ती खेप्दै आउनु परेको छ । गौतमबुद्धको जन्मस्थल, विश्वभरका बौद्यमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनीमा स्थलमार्गहुदै पर्यटक आउने वेलहिया सिमानाकाका अलपत्र र हिलाम्मे सडक, विग्रीएका सवारी साधन, र अपुरो गेटले नेपालको पर्यटनलाई गिज्याईरहेको छ ।
नेपाल भित्रिने पर्यटकलाई लक्षित गरि बेलहिया नाकामा खोलिएको पर्यटक सूचना केन्द्र नाम मात्र रहेको पर्यटन ब्यवसायीको भनाई छ । सूचना केन्द्रको अवस्था यती नाजुक छ की पर्यटकहरु पनि सूचनाको लागी यताउता भौतरि रहेका हुन्छन् ।
लाखौ पर्यटक भित्रयाउने ब्यस्त नाकामा मध्येको एक प्रमुख नाका रहेको यहाँ पर्यटक सूचना केन्द्रको कार्यालयमा रहेको पर्यटक प्रहरीले उनिहरुको जिज्ञासा मेटाउन खोजे पनि बजेटकै अभावमा यस्तो गर्न सकेको छैनन । नेपाल प्रवेश गर्ने वित्तिकै पर्यटकलाई हामी नेपाल प्रवेश गर्दैछौं भन्ने जानकारी पाउनका लागि पर्यटक सुचना केन्द्रमा केहीवेर विश्राम गर्ने, सुचना बोर्ड हेर्ने र नेपालका ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिने कुनै व्यवस्था नहुंदा पर्यटक अन्योलमा पर्ने गरेका छन् ।
पर्यटक सुचना केन्द्रमा कति प्रवेश गरे र कति बाहिरीए बाहेक पर्यटकका लागि कुनै थप सुविधा छैन् । यात्रा गरेर आएका थकित पर्यटकलाई, विश्राम स्थल, पिउने पानी, शौचालयको व्यवस्था नै नहुंदा पर्यटकहरुले नेपालको पर्यटन क्षेत्रलाई विश्वास गर्न नसक्ने अवस्था आईरहेको छ । वेलहियामा रहेको पर्यटक सुचना केन्द्रमा ८ जना पर्यटक प्रहरी त छन् तर प्रयाप्त भौतिक पुर्वाधार र स्रोतको कमिले गर्दा यसले पर्यटकलाई सबै सुचना दिन भने सकेको छैन । पर्यटक प्रहरीको सिमित साधनस्रोतले मौखिक रुपमा मात्र सूचनाहरु पर्यटकलाई दिने गरेको बताउछन ।
आफुसँग भएको जानकारी मौखिक रुपमा पर्यटकहरुलाई दिने गरेका छौ होइन भने आएको गएको तथ्याङक मात्रै हामीले राख्ने गछौँ । हामीसँग पर्यटकका लागि शौचालय पनि छैन, हामीले पिउने पानी सम्मको व्यवस्था भने गरेको खटिएका एक पर्यटक प्रहरीले भनिन ।
कार्यालय आएका पर्यटकहरु पर्यटकीय गनतव्यका बारेमा पर्चा, पम्पलेट, नक्सा, ब्राउसर राख्नु पर्ने भएपनि केही छैन । सबै भन्दा बढी पर्यटक भित्रयाउने नाकाको रुपमा रहेको बेलहियामा पर्यटक सूचना केन्दको अवस्थाबारे सम्बन्धित निकाय र पर्यटन ब्यवसायीहरुलाई अवगत भएपनि यस्मा खासैले चासो दिएको देखिदैन । पर्यटकको पहिलो छाप नै यहाँबाट राम्रो दिनुको साटो देशकै गलत सन्देश पहिलो विन्दुमा गरिएको सेवाबाट नै प्रष्ट हुन्छ । पर्यटन व्यवसायीहरुले भैरहवाको बेलहिया नाकामा र गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानास्थलमा पर्यटक सूचना केन्द्र व्यवस्थित हुनुपर्ने माग विभिन्न कार्यक्रमहरुमा गरेपनि न त सरकार नै गर्छ न निजी क्षेत्र नै ।
भारतीय सिमा हुदै नेपाल भित्रिने क्रममा पर्यटकलाई भारतीय नम्बर प्लेटका गाडिहरु प्रयोग गर्न दिईनु आफैमा ठुलो नोक्शानी हो । यदि नेपालले पर्यटन क्षेत्रलाई समृद्धिको आधार मान्छ भने सिमाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली सवारी साधनहरुले यहांका पर्यटकीय गन्तव्यसम्म पुरयाउने व्यवस्था मिलाउन जरुरी देखिन्छ ।
सिद्धार्थनगर नगरपालिकाले बनाउन लागिएको प्रवेशद्वार महिनौ देखि अलपत्र छाड्दा सिमाको प्रवेश विन्दु नै कुरुप देखिन्छ। पर्यटनका ठूला ठूला कुरा गर्दा पर्यटकको पहिलो छाप सिमामा यस्तो देखि पछि के पर्ला ? सिमामा निर्माणाधिन अवस्थामा रहेको अलपत्र गेटले नेपाललाई नै लज्जित बनाएको छ । सिद्धार्थनगर पालिकाले निर्माण गर्न लागेको गेटले नेपाललाई कुरुप चित्रण गरेको छ । पर्यटकलाई स्वागत गर्ने लक्ष्य भएपनि अहिले अवरोधक जस्तै छ । लक्ष्मी निर्माण कम्पनीले १ करोड ६५ लाखमा ठेक्का सम्झौता गरेर म्याद थप गर्दै निर्माणअवधि लम्ब्याउदै गएको छ ।
यस्तै निर्माण सुरु भएको आठ वर्षसम्म काम सम्पन्न गर्न नसकेको बुटवल वेलहिया सडकखण्ड अन्तर्गत वेलहियाको यो फोहोर र हिलाम्मे सडकले गिज्याईरहेको अवस्थाले पर्यटकलाई नेपालप्रतिको नकारात्मक धारणा बनाउन सहयोग गरिरहेको छ ।
पर्यटकले शान्त, रमणिय र सुन्दर वातावरण, पारिवारिक आतिथ्यता चाहेको हुन्छ तर नेपाल प्रवेश गरेदेखि लुम्बिनी पुग्दा सम्मको सडकको दुर्दशा, सडकको दायांवायां देखिने कवाड, वर्षौंसम्म अलपत्र पुल आदि कारणले पर्यटकको मानसपटलमा नेपालप्रति नैराश्यता देखिने गरेको छ । अव्यवस्थित सडकका कारण सवारी दुर्घटना, अशुरक्षित हवाई यात्रा जस्ता विषयमा सरकार गम्भिर बन्न नसक्दा नेपालले पर्यटनको ठुलो अवसर गुमाईरहेको अवस्था छ ।
विरोध गर्न अगाडि लाग्ने पर्यटन व्यवसायीहरुले पनि पर्यटकलाई समय समयमा विभिन्न अफरहरु दिने, नीजि क्षेत्रबाटै केही सौन्दरीकरणको पहल गर्ने, पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययनमा सरकारलाई सहयोग गर्ने जस्ता पर्यटन प्रवद्धनका काममा खासै चासो दिएको पाईदैन् । पर्यटन व्यवसायीहरुले पटक पटक सिमानाका व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि व्यवसायी र सरकारका निकायबीचको समन्वय नहुंदा पर्यटनको सम्भाव्यता र यसबाट लिन सकिने अवसर गुम्दैगईरहेका छन् ।
तिन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा सिमामा पर्यटकका लागि सहज व्यवस्थापन, प्रहरीबाट हुने गरेको दुख र सरसफाई एवम् सुन्दरीकरणमा ध्यान दिन सके पर्यटन क्षेत्रबाट ठूलो सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!