भैरहवा । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल दिगाे सञ्चालनका लागि महिनाकाे दुई पटक भैरहवा आउने बताएका छन । उनले विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
सिद्वार्थ उद्योग बाणिज्य संघ रूपन्देहीले आयाेजना गरेकाे गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन विषयक अन्तरक्रिया कार्यक्रममा व्यवसायिहरूले आशंका गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकि निरन्तर हुने प्रतिबद्धता समेत जनाए ।
नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेयले बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि आफू महिनामा २ पटक आउने बताए । ‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु’ उनले भने । उनले संस्कृती र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔ भन्नेमा लागेको समेत सुनाए ।
मन्त्री पाण्डेले बुद्धजन्मस्थल लुम्बिनीलाई नै केन्द्रमा राखेर विमानस्थल सञ्चालन गरिएकाले भैरहवा अब पर्यटनको इपिसेन्टरको संज्ञा दिए । उनले विमानस्थलसंग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालयहरु स्थापनाका लागि साउनमै निर्णय भएको बताउँदै मन्त्री पाण्डेले अब काठमाडौं फर्केर प्रधानमन्त्री स्तरीय बैठक बसि कार्यान्वयन गरिने बताए ।
गौतमबुद्व विमानस्थलमा नियमित उडान गर्न र लुम्बिनी विकास कोषलाई सुधारका लागि आफू पर्यटनको ईपिसेन्टर लुम्बिनी आउने बताए । उनले सँस्कृति नरहेको बताउदै अब नहुने काम हुदैन भनेर भन्ने संस्कार बनाउनुपर्ने समेत बताए ।
उनले विमानस्थलसँग सम्बन्धित तत्तकाल गर्नुपर्ने काम र प्राविधिक तथा दीगो रुपमा गर्नुपर्ने कामहरुलाई सूचीबद्ध गरेर गर्ने समेत बताए ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विकास कोषले दु्रतगतीमा काम गर्नुपर्ने सुझाव स्विकार गर्दै आगामि दिनमा त्यसका कमीकमजोरी सुधार गरेर जाने बताए । उनले होटल, गुम्बा र स्थानीयहरूका विचमा देखिएको विवादले काम गर्ने वातावरण नबनेको बताउदै त्यहाँको द्वन्द्वको मध्यस्थताका लागि निजि क्षेत्रलाई सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले विश्वका डेढ अर्ब बढि बुद्धमार्गीहरुको आस्थाको केन्द्रका रुपमा लुम्बिनी रहेकाले बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुने बताए । उनले आफूले बुद्धिष्ट राष्ट्रका उच्च पदस्थहरुसँग भेटघाटमा विमान चलाउनका लागि आग्रह गरेको बताउँदै यसका लागि मन्त्रिपरिषद र मन्त्री तहबाट पहल हुनुपर्नेमा जोड दिए । उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषमा आफू आएदेखि २१ वटा विभिन्न बौद्ध पूजाहरु भएकाले अब लुम्बिनीमा यस्ता गतिविधि बढाउनका लागि स्थानीय, होटल व्यवसायी र सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सञ्चालन भएको एयरपोर्टलाई चलायमान बनाउन सक्दा पर्यटन प्रवद्वन हुने बताए । उनले निजि क्षेत्रले विमानस्थल चलाउनका लागि सहुलियत दिएर भएपनि दिगो सञ्चालनको वातावरण बनाउनुपर्ने बताए । उनले सरकारलाई श्रम समस्या, भिसा सेन्टर, स्वास्थ्य परीक्षण लगायतका संस्थाहरू तुरून्त भैरहवामा स्थापना गर्न आग्रह गरे । ‘त्रिभुवन विमानस्थलको मर्मतको समयसम्म मात्रै चल्छ भन्ने मानसिकता त्यागौं, सबैले सकरात्मक रूपमा चलाउने वातावरण बनाऔं’ उनले भने ।
यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले रुपन्देहीका १६ वटै स्थानीय तहरुसँग समन्वय गरेर विमानस्थल दीगो सञ्चालनका लागि आवश्यक वातावरण बनाउन तयार रहेको बताए ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डले विमानस्थल सञ्चालनका लागि निजि क्षेत्रले पनि योगदान गर्ने गरि यात्रुहरूलाई सहुलियत दिने कार्यक्रम ल्याउन जोड दिए । उनले सरकारसँगै नीजि क्षेत्रले पनि विमानस्थलको दीगो सञ्चालनका लागि भूमिका बढाउन आग्रह गरे । यसैगरी सिद्वार्थनगर नगरप्रमुख ईस्तियाक अहमद खाले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि योजना बनिरहेको बताए ।
विश्वका बौद्वमार्गीहरूलाई लुम्बिनी ल्याउन गरि वातावरण बनाउन सके नियमित उडान गर्न सकिने बताए ।
कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले ५ वटा विमान कम्पनीहरुले नियमित उडान गरिरहेको बताए । उनका अनुसार अहिलेसम्म २ हजार ५९३ जना यात्रुले आवत–जावत गरेको र ३ हजार २५ यात्रुहरुले ट्राजिन्ट गरेका छन् ।
उक्त अन्तरक्रियामा नेपाल उद्योग बाणिज्य संघ लुम्बिनीका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, पूर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, सिद्धार्थ होटल एसोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापा, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कि, ट्राभल व्यवसायी सञ्जय बजिमय, लुम्बिनी होटल व्यवसायी संघका महासचिव पुरूषोत्तम अर्याल सिद्धार्थ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्य, महासचिव कृष्ण प्रसाद घिमिरे लगायतले विमानस्थलका अत्यावश्यक कार्यालयहरु स्थापना नभएकाले दिगो सञ्चालनमा आशंका गर्दै मन्त्रीको ध्यानआर्कषण गराएका थिए । गौतमबुद्ध विमानस्थलबाट कार्तिक २३ देखि अन्तर्राष्ट्रिय उडान शुरु भएको हो
प्रतिक्रिया
सम्बन्धित समाचार
