भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान हुने भएको छ ।
मंगलबार करिब पाँच घण्टा भएको बयान आज विहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुन: शुरु हुने रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ ।
बयान सकिएपछि गएराती लामिछानेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो ।
मंगलबारको बयानमा लामिछानेले आफूमाथि लागेको आरोप अस्विकार गरेका छन् । उनले आफूमाथि लागेको आरोप अस्विकार गर्दै यो विषय जिबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहले फसाइएको बयानका क्रममा बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले अब सुप्रिमका लागि रवि लामिछानेलाई बुटवल ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेसमेत कास्की प्रहरीलाई पत्र पठाएकाले उनलाइ दिउसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो । प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले अनुमति दिएसँगै रुपन्देही जिल्ला प्रहरी कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ । रुपन्देही प्रहरीले छविलालसँग भने यसअघि नै बयान लिइसकेको छ । रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
भैरहवामा राष्ट्रिय स्वतन्त्र पाटीको प्रदर्शन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई दिउसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो ।
लामिछानेको प्रतिक्षामा रहेको उनक समर्थककहरुले एयरपोर्ट अगाडि विहानैबाट जम्मा भई प्रदर्शन गरिरहेका थिए । मौसम खराबीका कारण दिउसो मात्रै आएका लामिछानेलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगिएको छ । लामिछाने वयानमा भइरहदा राष्ट्रिय स्वतन्त्र पाटीका कार्यकर्ताहरुले भैरहवाको लुम्बिनी गेटबाट विरोध र्याली निकाली नगर परिक्रमा गरिरहेकका छन । लुम्बिनी रोड गेट अगाडिबाट सुरु भएको विरोध कार्यक्रम बुद्ध चोक, बम्रेली टोल हुदै नगर परिक्रमा गरि बम्रेली टोलमा आई सभा गरेको थियो ।
सभामा रास्वापाका लुम्बिनी प्रदेश सभापति देवराज पाठक, बाग्मती प्रदेशको प्रर्व महामन्त्री जिता बराल, नेताहरु शंकर श्रेष्ठ, प्रकाश ज्ञवाली, ओम पौडेल, प्रशुराम पराजुली लगायतले सम्बोधन गरेका थिए ।
सहकारी पिडितहरुको विरोध
सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन् ।
सदरमुकाम भैरहवाको बुद्धचोक र सरकारी वकिल कार्यालय नजिकै पीडितले प्रदर्शन गरेका हुन् । उनीहरुले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग गरेका हुन् ।
सुप्रिम सहकारीपीडित समूहको नाममा भैरहवाको बर्मेली टोल नजिकै जिल्ला अदालत प्रवेशद्वारमा भेला भएका पीडितले ’सहकारीपीडितलाई न्याय दे’, ’सहकारी ठग्न पाइँदैन’, ’सहकारी ठगीको निष्पक्ष छानबीन गर’ लगायत नारा लगाएका थिए सहकारीपीडित संघर्ष समितिका अध्यक्ष विजय नेपालले जिल्ला अदालत प्रवेश मार्गदेखि जिल्ला सरकारी वकिल कार्यालयसम्म प्रदर्शन गरिएको जनाए ।
