भैरहवा । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट ५ विमान कम्पनिले साताभरि उडान गरिरहेका छन ।
थाईल्याण्डको वायुसेवा कम्पनी एयर एशियाले शुक्रबारबाट, फ्लाई दुबई एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र नेपाल एयरलाइन्सले शनिबारबाट र कतार एयरवेजले मंगलबारबाट उडान सुरु गरेसँगै भैरहवाबाट एक सातमा ५ वटा विमानकम्पनि मार्फत सातै दिन अन्तर्राष्ट्रिय उडानसँग हुने भएको हो । अन्तराष्ट्रिय उडान दैनिक हुन थालेपछि निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीयहरु उत्साहित भएका छन् ।
विमानस्थल शुरु भएदेखि उडान सुरु गरेको जजिरा एयरलाइन्सले स्थगित गरेको थियो । तर, शनिबारदेखि फेरि शुरु गरेको छ । शनिबार बिहान एक सय ७१ यात्रु लिएर आएको जजिरा एक बालकसहित एक सय ६८ यात्रु लिएर उडेको थियो । त्यस्तै, शनिबारै दिउँसो १२ बजे फ्लाइ दुबईको जहाजले दुबईबाट १५९ जना आएका मध्ये १० जना भैरहवा अवतरण गरेका थिए । फ्लाइ दुबईले हप्तामा सातै दिन उडान गर्ने तालिका छ । शनिवार राति नेपाल एयरलाइन्सले काठमाडौंबाट १५८ यात्रुसहित उडान भरेर भैरहवा हुदै दुबई प्रस्थान गरेको थियो ।
जजिरा एयरले सातामा तीन दिन उडान गर्दैछ । मंगलबार, बिहीबार र शनिबार बिहान साढे ७ बजे भैरहवा आउने र साढे ८ बजे भैरहवाबाट कुवेतका लागि उड्ने सुचना अधिकारी बिनोदसिहं रावतले जानकारी दिए । नेपाल एयरलाइन्सले सातामा तीनपटक काठमाडौँ–भैरहवा–दुबई उडान गर्नेछ । तिवारीका अनुसार आइतबार, सोमबार र बुधबार नेपाल एयरलाइन्स काठमाडौँबाट बिहान १० बजे उडान गरी भैरहवा आउने र यहाँबाट दुबई जानेछ ।
कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ । मंगलबार कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजमा ३३ यात्रुमध्ये एक जना भैरहवा झरेका छन् भने बाँकी ३२ जना काठमाडौं गएका छन् । योसँगै कतार एयरवेजले दोहा–भैरहवा–काठमाडौं रुटमा दैनिक उडान सुरुवात गरेको हो ।
एयर अरेबियालगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग पनि भैरहवाबाट उडान गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । अहिले भैरहवा विमानस्थल १८ घण्टा सञ्चालन भइरहेको र एक घण्टामा विमानस्थलमा दुई अन्तर्राष्ट्रिय विमान सञ्चालन गर्न सक्ने क्षमता रहेको छ ।
