भैरहवा । दोस्रो वडास्तरीय वडाकप फुटबलको उपाधि दुर्गा शिव तथा कृष्ण मन्दिर सञ्चालक समितिले जितेको छ । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालय, रुपन्देहीको आयोजनामा बुधबारदेखि भएको खेलमा फाइनलमा ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवारलाई ६–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उत्तरतर्फ रहेको प्रांगणमा भएको प्रतियोगितामा ७ वटा टीमको सहभागीता रहेको थियो । गत वर्षको विजेता ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवार यस वर्ष उपविजेता भएको छ । फाइनल खेलको पहिलो हाफमा मन्दिरको तर्फबाट जर्सी नम्बर ७ सामर्थ गुरुङले लगातार ३ गोल हानेका थिए, उनलाई साथ दिदै दोस्रो हाफमा पुरन घिमिरेले पनि एक गोल जोडेका थिए । सामर्थलाई रोक्न नसकेको ढाक्रेका खेलाडीहरुले लगातार २ गोल खाए । सामर्थको लगातारको गोल पछि ढाक्रेबाट अन्तिम समयमा सागर गुरुङले एक गोल गरे । प्रतिउत्तर फर्काउन नसकेपछि ढाक्रेले एक गोलसँगै हार व्योहोर्नु पर्यो ।
प्रतियोगितामा दुर्गा शिव तथा कृष्ण मन्दिरका सामर्थ गुरुङ उदयीमान खेलाडी, पुरन घिमिरे उत्कृष्ट खेलाडी, ढाक्रे क्लबका साहिल थापा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स प्रथम गुरुङ र नवप्रतिभा खेलाडीबाट दोगहरा फ्रन्ट्रसका सन्दिप हरिजन पुरस्कृत भएको कार्यक्रम संयोजक हरि केसीले जानकारी दिए ।
विजेता र उपविजेतालाई सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, वडाअध्यक्ष मुक्तीनाथ यादव र अतिथीहरुले खसी, मेडल, ट्रफी तथा प्रमाणपत्र पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर–२ का अध्यक्ष छेदीलाल श्रीवास्तवले वडास्तरीय फुटबल प्रतियोगिताले खेलाडीलाई अगाडि बढ्न मद्दत गर्ने बताए । उनले भने, ‘वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले खेलाडी उत्पादन हुने गरी यो कार्यक्रम सञ्चालन गर्नुभएको छ । उहाँले वडाबासीमा निकै उत्साह जगाउनुभएको छ ।’
त्यस्तै सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले आफू पनि खेलाडी भएकोले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताए । उनले खेलाडीको प्रोत्साहन र खेलकुद क्षेत्रको विकासका लागि दोस्रोपटक फुटबल प्रतियोगिता आयोजना गरिएको बताउदै यो निरन्तर प्रतियोगिता आयोजना हुने भएकोले वडाबासीले साथ र सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रम संयोजक तथा सिद्धार्थनगर–४ का वडा सदस्य हरि बहादुर के.सी.ले आगामी दिनमा यस्तो प्रतियोगिता अझ राम्रोसँग सञ्चालन गर्ने बताए । प्रतियोगितामा श्री तमु समाज, श्री दुर्गा शिव तथा कृष्ण मन्दिर सञ्चालक समिति, सिद्धार्थ बौद्ध गुम्बा, फुलबारी सेवा समाज, दोगहरा फ्रन्ट्रस, ढाक्रे खेलकुद तथा साँस्कृतिक परिवार र वडा नम्बर ४ कार्यालय कर्मचारी गरी ७ वटा टीमको सहभागीता रहेको थियो ।
