भैरहवा । लामो समयदेखि अपेक्षित अन्तर्राष्ट्रिय उडान अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दै गएको छ। कुवेतको जजिरा, दुबईको फ्लाई दुबई र थाइल्याण्डको थाई एयर एसियाजस्ता अन्तर्राष्ट्रिय एयरलाइन्सले यस विमानस्थलबाट उडान सञ्चालन गर्न लागेकाे हुन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन् ।
यसले पर्यटन क्षेत्रमा नयाँ आशा पलाएको छ। फ्लाई दुबईले आगामी कात्तिक २४ गतेदेखि दुबई-भैरहवा-काठमाडौं रुटमा नियमित उडान सुरु गर्नेछ। जजिरा एयरले पनि कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ।
थाई एयर एसियाले पनि छिट्टै उडान गर्ने योजना बनाएको छ। यी एयरलाइन्सको उडानले लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। विमानस्थल सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा निजी क्षेत्र निराश भएको थियो।
अब यसले पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। सरकारले पनि दुवै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न विभिन्न सहुलियत दिएको छ। हवाई इन्धन, टिकटलगायतमा सहुलियत दिइएको छ।
यसले एयरलाइन्सलाई आकर्षित गरेको छ। यस विमानस्थलको सञ्चालनले नेपाललाई अन्तर्राष्ट्रिय जडानमा सहयोग पुग्नेछ। यसले व्यापार, पर्यटन र लगानीलाई प्रवर्द्धन गर्नेछ। अन्य एयरलाइन्सले पनि यस विमानस्थलमा उडान गर्न चासो देखाएको विमानस्थलका अधिकारीहरूले बताएका छन्। यसले भविष्यमा यस विमानस्थलको महत्व अझ बढ्ने संकेत गरेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढ्नुले नेपालको पर्यटन क्षेत्रका लागि एउटा महत्वपूर्ण उपलब्धि हो। यसले नेपालको आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउनेछ।
