रोहिणीमा गाउँब्लक जग्गाको ४५० वटा लालपूर्जा वितरण

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत रहेको गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ ।

पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका पालिकाको वडा नम्बर ३ मा रहेको ४१५ जना व्यक्ति र ३५ वटा सरकारी निकाय तथा संस्था गरी ४५० थान लालपूर्जा वितरण गरिएको हो ।
रोहिणी गाउँपालिका र नापी कार्यालय रुपन्देहको आयोजनामा धकधईमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जग्गाधनिलाई लालपूर्जा हस्तान्तरण गरे ।

वि.सं. २०२४ मा भएको पहिलो नापीमा तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । त्यसबेला नापी कार्यालयका कर्मचारीले विविध कारणले व्यक्तिको जग्गा छुट्याउन समय नभएपछि गाउँ ब्लकका नाममा सिङ्गो गाउँको एउटै कित्ता बनाएर जग्गा नापी गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री अधिकारीले लालपुर्जा नहुँदा पुस्तौँपुस्ता बिताएको जमिन आफ्नो भन्ने अवस्था नरहेकोले वर्षौदेखि लालपूर्जा नपाएका जनतालाई लालपूर्जा दिन योजनाबद्ध तरिकाले अभियान चलाएको बताए । उनले लालपूर्जाबिहीन जनताले लालपूर्जा पाए भन्ने सन्देश दिन अभियानको रुपमा हामी अघि बढेका छौ, नितिगत तथा कानुनी जटिलताका कारण अवरोधहरु अएकोले कानु संशोधन गरेर भएपनि यी समस्याहरु समाधान गर्ने बताए ।

नेपाल सरकारले वर्षौंदेखि गाउँ ब्लकमा रहेको कित्ता जग्गालाई नापजाँच गरी अभियानकै रुपमा सम्बन्धित जग्गाधनीलाई दर्ता प्रमाणपत्र वितरण गर्ने योजना बनाएको छ । मन्त्री अधिकारीले उखडा र बहालबिटौरी जग्गामा बसेका नागरिक पनि लालपूर्जाबाट वञ्चित भएको बताए । उनले भने, ‘जग्गाधनी प्रमाणपूर्जा दिन कानून परिवर्तन पनि गर्नुपर्ने अवस्था छ । कतिपय कानून बनाउन बाँकी छन् । कतिपय नागरिक वर्षौदेखि पर्ती जग्गामा बस्नुभएको छ । तर, उहाँहरुको आफ्नै नाममा जग्गा छैन । हामी त्यसको पनि व्यवस्थापन गर्ने गरी लागेका छौं ।’

मन्त्री अधिकारीले रुपन्देहीसहित तराईका धेरै जिल्लामा भूमिहीन, सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासी रहेका र उहाँहरुलाई छिटोछरितो रुपमा जग्गा दिनका निम्ति लागिपरेकोे बताए । उनले भने, ‘जनताले एकातर्फ लालपूर्जा नपाएको र अर्कोतर्फ सरकारको राजस्व गुमेको छ । यी सबै कुराहरुलाई मिलाउनको निम्ति योजनाबद्ध तरिकाले लागेका छौं, दशैैपछि आयोग गठन गर्छौं । ’

रोहिणीका नागरिक ४०–५० वर्ष देखि लालपूर्जा नपाएर आफ्नो जग्गाको मालिक हुन सकेका थिएनन । एक वर्ष देखिको निरन्तर पहलमा जटिलताहरुलाई समाधान गर्दै नागरिकलाई लालपूर्जा दिलाएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । पुस्तौंदेखि जमिनको भोगचलन गर्दै आएकाहरु पूर्जा नहुँदा समस्यामा परेको गुनासो आएपछि तत्काल यसका लागि आफुहरुले पहल गरेको बताए ।

यस पालिका क्षेत्रमा करिब २ हजार जग्गाधनि गाउँब्लकमा जग्गा रहेकोले नागरिकहरुको लालपूर्जा नहुनु जटिल समस्याको रुपमा नै थियो । वर्षौ देखि घर बसोवास भएपनि अझै कति पय ठाँउमा समस्या रहेकोले यसलाई समाधान गर्दै लैजाने तर्फ हामी लागेको यादवले भने ।

नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत सुग्रीव यादवले ८४१ वटा गाउँब्लक र ६७५ हेक्टर जग्गाको पूर्जा वितरण गरिसकिएको जानकारी दिए । कानुनी जटिलताका कारण हामीलाई पूर्जा दिन रोकिरहेकोले यसलाई विस्तारै विभागले सम्बोधन गर्दै लैजाने बताए । अभियानकै रुपमा गाँउ ब्ल्क जग्गाको नापी गरी नक्सा तयार पारेर फिल्ड बुकमा चढाई स्रेस्ता कायम गरी दर्ता प्रमाणपत्र दिइएको यादवले भने ।

पहिले नापी गर्दा गाउँ बस्तीको घरजग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा हो । विसं २०२१ मा तत्कालीन राजा महेन्द्र शाहले भूमिसुधारको नीति ल्याएपछि नाप्दानाप्दै छुटेका जग्गा व्यक्तिगत नामकरणमा नभई गुजुमुच्चरुपमा गाउँ ब्लकमा राखिएको थियो । यस्ता गाउँ ब्लक अहिले पनि ११ जिल्लामा छन् । ती जिल्लामा गरी करीब १५ लाख जग्गाधनीले दर्ता प्रमाणपत्र पाएका छैनन् । नेपालमा विसं २०१४ मा नापी विभाग स्थापना भएको थियो भने २०१९ सालमा नापी ऐन जारीपछि २०२१ सालमा कित्ताको लगत निकाल्न शुरु भएको थियो ।

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले जनताको आवाज लिएर अगाडि बढेको बताए । उनले वर्षौदेखि बसोबास गर्दै आएका नागरिकले आफ्नो सम्पत्तिको हक पाएको बताए ।
वर्षैा देखि लालपूर्जा नहुँदा व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट हामी वञ्चित थियौ लालपूर्जा पाए पछि धेरै नै खुशी रहेको स्थानीयहरुले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!