भैरहवा । सिद्धार्थनगर–४ कचरिहवामा नुरी मस्जिदको शिलान्यास गरिएको छ । नियमित नमाज पढदै आएको मस्जिद गौतमबुद्ध विमानस्थलको अधिग्रहणमा परे पछि स्थानीयहरु बाहिर जानु पर्ने बाध्यता थियो । मुअब्जा रकमबाट जसो तसो मस्जिदको लागि जग्गा खरिद गरिए पनि निर्माणको काम सुरु हुन सकिरहेको थिएन । स्थानीयहरुको प्रयास र लुम्बिनी प्रदेश सरकारको पहलमा मस्जिदको शिलान्यास गरिएको हो ।
शनिबार बरावशरिफका पीरे तरीकत हजरत बाबु मुहम्मद मसउद रजा अलवी र शेरे नेपाल सुफी मोहम्मद सिद्धीकले संयुक्त रुपमा मस्जिदको शिलान्यास गरेका हुन । जग्गा लिईएपनि लामो समयदेखि मस्जिद निर्माणको काम सुरु हुन नसकेको पछि नुरी मस्जिद समाज संरक्षण समिति र स्थानीयको प्रयासमा मस्जिद निर्माणको थालनी गरिएको मस्जिद समितिका अध्यक्ष नसरुल्लाह धुनियाले बताए ।
१३ धुर क्षेत्रफलमा करिब ७० लाख लागत अनुमानमा मस्जिद निर्माण गर्ने योजना रहेको छ । सुरुवाती चरणमा प्रदेश सासंद सन्तोष कुमार पाण्डेको संसदीय विकास कोषबाट ५ लाखको अनुदानमा शिलान्यासको कार्यक्रम गरिएको छ । स्थानीय सरकार, सहयोगी र दानवीरहरुको सहयोगमा मस्जिदलाई पूर्णता दिने लक्ष्यका साथ काम सुरु गरिएको अध्यक्ष धुनियाले बताए ।
२ दर्जन मुस्लिम घरधुरी रहेको सो क्षेत्रका मुस्लिम समुदाय अहिले नमाज पढ्नका लागि छिमेकी मस्जिद शंकरपुर र पिपरहिया जानु परेको छ । यो मस्जिद निर्माणले कचरिहवाका मात्र नभई छिमेकी गाँउहरु शंकरपुर, जंगलटोल , पिपरहिया, मेउडिहवा सम्मको मुस्लिमहरुका लागि सहज हुने छ ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सासंद पाण्डे, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तिायक अहमद खाँ, वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव , राप्रपाका जिल्ला अध्यक्ष सागर प्रताप राणा लगायतले यो क्षेत्रमा पहिलै देखि मस्जिद भएकोले ढिलै भएपनि मस्जिद पुननिर्माणको थालनी हुनु सुखद पक्ष रहेको बताए । मानव समुदायमा आँउन सक्ने मतभिन्नतालाई धर्म र संस्कृतिको माध्यमवाट एक आपसमा एकताको भावना जगाउनु पर्ने तर्फ जोड दिए ।
मुस्लिम समुदायको संस्कृति र संस्कारको संरक्षण गर्दै जानु पर्ने, मस्जिद बनाएरमात्रै नहुने भएकोले मस्जिदमा नियमित धार्मिक क्रियाकलापलाई जोड्दै समाजमा सकारात्मकविकास हुन जरुरी रहेको, मस्जिदमा नियमित रुपमा धेरै भन्दा धेरै नमाजीहरुको सहभागिता हुनु पर्ने र प्रर्थनाले आत्माको शान्ति हुनुका साथै, शारिरीक अभ्यास र स्वास्थ्य रह्न सकिने भएकोले केही समय निकालेर नमाजलाई प्राथमिकता दिनु पर्ने बताए । समितीको अग्रसरतामा मस्जिदको लागि स्थानीयले नगद, बाटोको लागि जग्गा समेत दान गरेकोले निर्माणको काममा सबैलाई तन मन धनले सहयोग गर्न अपिल गरेको छ ।
