भैरहवा । रुपन्देहीमा शनिबार देखि वेपत्ता भएको दुध बोक्ने पिकअप गाडी र चालक सहचालक मध्ये गाडी घाघरा खोलामा भेट्टिएको छ ।
मर्चवारबाट दैनिक रुपमा दुध बोक्ने गाडी शनिबार विहान देखि हराईं रहेको थियो, स्थानीयले गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट हराएको बताएका थिए । भे १ च २६७६ नम्बरको जिप शनिबार विहान देखि हराईं रहेको खबर सुरक्षा निकायमा आएपछि खोजी कार्य जारी थियो ।
आइतबार साझ करिब ६ बजे विमानस्थल पछाडीकै घाघरा खोला क्षेत्रमा गाडी फेला परेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रञ्जित सिंह राठौरले बताए । शनिबारबाट नै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी कार्य गरिरहेका थिए , दिउसो दुध सहितको क्यान फेला परेपछि उद्वार टोलीले गाडीको पहिचान गरि क्रेनको सहायताले बाहिर निकालेको छ । हराईरहेका चालक र सह–चालक फेला नपरेकोले उनीहरुको खोजी कार्य जारी रहेको एसपी राठौरले भने ।
जिपका चालक प्रकाश तमाङ्ग र सह–चालक उमेश लोध भने अझै वेपत्ता रहेका छन । सम्मरीमाई गाउँपालिका–५ स्थित रोइनिहवाबाट तिवारी दूध संकलन केन्द्रबाट सो गाडी संकलन केन्द्रबाट दूध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउदै थियो ।
