काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।
प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
प्रसाईंविरुद्ध विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै रास्वपाकी केन्द्रीय सदस्य टीका संग्रौलालगायत पीडित महिलाले साइबर ब्युरोमा उजुरी दिएका थिए।
