भैरहवा, असोज ३ । १० औं संविधान दिवसको अवसरमा रुपन्देहीमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । दिवस मुल समारोह समिति रुपन्देहीको आयोजनामा विहीबार भैरहवामा विहान प्रभातफेरी आयोजना गरिएको थियो ।
यस्तै वेलुका विभिन्न चोकहरुमा दीप प्रज्ववलन गरिएको छ । समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा नेपाल भारत सिमानाका वेलहियामा झण्डातलोन गरी प्रभातफेरी निकालिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
पञ्चेबाजा सहित निकालिएको प्रभातफेरीमा सरकारी कार्यालयका कर्मचारी, स्थानीय तहका जनप्रतिनिधि एवम् कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सामुदायिक प्रहरी, नीजि क्षेत्रका विभिन्न संघ संगठनहरु, अन्य सामाजिक संघसंस्था, विद्यालयहरुको सहभागिता रहेको थियो ।
वेलहियाबाट नेपाली झण्डा फहराउदै सुरु भएको प्रभातफेरी भैरहवाको देवकोटाचोकमा पुगेर समापन गरिएको थियो । समापन समारोहमा बोल्दै संविधानसभा सदस्य एवम् सिद्धार्थनगरका प्रमुख ईस्तियाक अहमद खानले नेपालको संविधानलाई सबै वर्ग,जाति, धर्म, समुदायले अपनत्व ग्रहण गर्नुपर्ने बताए । जिल्ला समन्वय समितका संयोजक उमाकान्त चपाईले नेपालको संविधान निर्माण गर्न जसरी राजनीतिक दलहरुबीच एकता भयो त्यसरी नै एक भएर यसको संरक्षण गनुपर्ने धारणा राखे ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संविधान दिवसको अवसरमा हरेक नागरिकले आफ्नो तहबाट राष्ट्रप्रति केही योगदान दिन प्रण गरौ भन्ने सन्देश दिए । सिद्धार्थनगरका उपप्रमुख उमा अधिकारीले महिलालाई संविधानमा उल्लेख गरिएको अधिकारलाई व्यउवहारमा पनि लागु गर्नुपर्ने सुझाव दिईन् ।
जिल्ला प्रशासन कार्यालयका अधिकृत विक्रम थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसै गरी वेलुका भैरहवाका बुद्धचोक, लुम्बिनी गेट, मिलनचोक लगायतका स्थानमा नागरिकहरुले दीप प्रज्वलन गरेका छन् ।





