भैरहवा ।
जिल्ला अस्पतालको रुपमा रहेको यस क्षेत्रकै पुरानो अस्पताल भीम अस्पताल भैरहवाबाट आर्थिक वर्ष २०८०।०८१ मा १ लाख १२ हजार ८ सय जना विरामीले ओपिडी सेवा लिएका छन् । अस्पतालबाट गत आर्थिक वर्षमा करीब १५ हजार विरामीले आकस्मिक स्वास्थ्य सेवा लिएको अस्पतालको तथ्यांकले देखाएको छ ।
अस्पतालबाट संचालित स्वास्थ्य सेवाका बारेमा जानकारी गराउने उद्देश्यले आयोजित वािषर््ाक समीक्षा गोष्ठीमा अस्पतालका मेडिकल रेकडर खिनु थापाले वर्ष भरी अस्पतालबाट प्रवाह गरेका स्वास्थ्य सेवा र त्यसको प्रभावका विषयमा प्रतिवेदन सार्वजनिक गर्दै विगतको तुलनामा अस्पतालमा धरै सुधार भएको जानकारी दिए । उनका अनुसार उपलब्ध सिमीत साधान स्रोतका बावजुद अधिकतम सेवा दिने प्रयास अस्पतालका स्वास्थ्यकर्मीबाट भएको देखिन्छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त शर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघसंस्थाका प्रमुख, उपभोक्ता संरक्षण मञ्च, संचारकर्मी लगायतको आतिथ्यता थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले भीम अस्पतालले कोरोना पछि स्वास्थ्य सेवामा धरै सफलता प्राप्त गरेको बताए । आम नागरिकको माग र आवश्यकतालाई ध्यानमा राख्दै अस्पताललाई १ सय शैयाको अस्पतालको रुपमा स्तरोन्नती गर्नुपर्ने धारणा राखे ।
कार्यक्रमका प्रमुख अतिथि जिससका प्रमुख उमाकान्त चपाईले अस्पतालको सेवा सुधारोन्मुख रहेपनि यहिनै प्रयाप्त नभएको बताए । अस्पतालको विकासका लागि भौतिक संरचना, आवश्यक उपकरण र त्यसलाई परिचालन गर्ने दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको सामुहिक प्रयासले मात्र अस्पताल नागरिकमुखी बन्न सक्ने बताए । स्वास्थ्यकर्मीको राम्रो व्यवहारले अस्पताल लोकप्रिय बन्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा अस्पताल प्रमुख एवं मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले नेपालको पुरानो अस्पताल मध्ये भीम अस्पताल भएको बताइन् । उनले यहाँका नागरिक समाजको साथ र सहयोगले काम गर्न थप हौसला प्रदान भएको बताइन् । उनले भनिन्, ‘यो अस्पतालप्रति नागरिकको भरोसा बढेको छ । आवश्यक जनशक्तिको अभाव र सीमित स्रोतसाधनका बाबजुद विभिन्न सेवाहरु विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न लागिपरेका छौं ।’
भीम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माले अस्पतालले अहिलेसम्म गरेको प्रगति एकजनाको योगदानले नभएको बताए । उनले पूर्वअध्यक्षहरुको अथक प्रयास र योगदान रहेको बताए । आफू यसै अस्पतालमा २०५१–५२ सालमा मेडिकल अफिसर, त्यसपछि मेसु र अहिले अध्यक्ष भएको बताए । उनले १९९० सालमा ३ बेडबाट सुरु भएको भीम अस्पताल र सँगै खुलेका अस्पतालहरु २–३ सय बेडको भए पनि यो अस्पताल त्यसरी अघि बढ्न नसकेको बताए । उनले भने, ‘अस्पतालमा आईसीयू सञ्चालन आवश्यक छ । तर, फूल फेजमा चलाउनुपर्छ । नाम मात्रको सेवा दिएर हुँदैन । त्यस्तै मुटु सम्बन्धि प्राथमिक उपचारको व्यवसथा गर्न आवश्यक छ । आएका सल्लाह–सुझाव आत्मसात गर्दै अघि बढ्ने उनको भनाइ छ । ’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले सिद्धार्थनगर–१३ मै अस्पताल भएकाले वडा कार्यालय र अस्पतालबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अस्पतालले स्थानीय सरकारसँग समन्वय गर्दै अघि बढ्नुपर्छ ।’
यस्तै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले सुचाङ्गकमा अस्पतालले राम्रो नतिजा प्राप्त गरेको आधारमा अस्पतालको सेवा प्रभावकारी मान्नु पर्ने बताए । अस्पतालले नागरिकको सुचनाको हक प्रत्याभुत गर्ने काममा सफलता प्राप्त गरेकोले यसका सवल र दुर्वल पक्षहरुलाई आत्मसाथ गर्दै आगामी रणनीति बनाउन सहायक प्रजिअ रानाले सुझाव दिए ।
अस्पताल विकास समितिका पुर्व अध्यक्ष नारायण भण्डारीले अस्पतालको विकास २०७८ सालपछि देखिने गरी भएको दावी गरे । आफु कोरोनाकाल जस्तो विसम परिस्थितिमा पनि अस्पतालको अध्यक्ष भएर सबैको साथ सहयोग, कर्मचारीको मनोविज्ञानलाई बुझेर काम गर्दा अस्पतालको मुहार नै फेरिएका्े बताए । अस्पतालमा अध्यक्षदेखि मेसु, कर्मचारी सबैको एकमत हुनु पर्ने सुझाव दिए ।
यस्तै पुर्व अध्यक्ष हितराज पन्थीले रुपन्देही जिल्ला विकासको हिसावले तिबै गतिमा अगाडि बढेकाले यहांको मानिसको बाक्लो उपस्थितिलाई मध्येनजर गर्दै भीम अस्पताललाई ४ सय शैयामा स्तरोन्नती गर्नुपर्ने बताए । भैरहवामा रहेको अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलको संचालन पश्चात यस क्षेत्रमा विदेशी पर्यटकको समेत आगमनलाई ध्यानमा राखेर त्यही अनुसारको स्वास्थ्यसेवा दिन भीम अस्पताल यतारी अवस्थामा रहनु पर्ने धारणा राखे । जसका लागि सबै पक्षको साथ लिएर योजना बनाउन अस्पताल प्रशासनलाई सुझाव दिए ।
पुर्व अध्यक्ष कुल प्रसाद न्यौपानेले अस्पतालले तयार गरेको गुरुयोजना पुरा गर्न अहिले समिति लाग्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै पुर्व अध्यक्ष आनन्द प्रसाद गुप्ताले चिकित्सकहरुको उचित आवासको प्रबन्ध अस्पतालले मिलाउनु पर्ने सुझाव दिए । अस्पतालका सटरहरुको भाडा महंगो भएको भन्दै उनले यसलाई पुर्नविचार गर्न आग्रह गरे ।
स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका रामप्रसाद भट्टराईले भीम अस्पतालको सेवा गुणस्तरीय रहेको बताए । प्रदेशका १३ अस्पतालमध्ये उत्कृष्ट दशमा पर्न सफल भएको भीम अस्पतालले कम स्रोतको अधिकतम उपयोग गरेर नागरिकलाई स्वास्थ्यसेवा दिएको बताए ।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले अस्पतालमा आईसीयू सेवा सञ्चालन गर्नैपर्ने बताए । उनले भीम अस्पताललाई नेपालकै अग्रणी अस्पताल बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य भरत बहादुर केशीले जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पतालले यहांका नागरिक समाजको साथ लिएर आफ्नो सेवालाई गुणस्तरीय बनाउनु पर्ने सुझाव दिए । अस्पताल ग्रामिण भेगका नागरिकहरुको भरोसा भएका कारण ल्याव, फार्मेसीको सेवा समेत छिटो छरितो बनाउन सुझाव दिए ।
सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले भीम अस्पतालप्रति आम सर्वसाधारणको विश्वस बढ्दै गएको छ । उनले भने, ‘अस्पतालमा सरसफाई आवश्यक छ । त्यसको साथै यहाँका स्वास्थ्यकर्मीको बोली व्यवहारमा सुधार हुन आवश्यक छ । ’
त्यस्तै लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले अस्पतालमा सुधार धेरै भएको बताइन् । भीम अस्पताल बिरामीको रोजाइमा पर्न सफल भएको छ, अस्पतालप्रति जनताको विश्वास बढ्दै गएको छ । उनले भनिन्, ‘अस्पताल यहाँसम्म आउन पूर्वअध्यक्ष र मेसुहरुको भूमिका महत्वपूर्ण छ ।’ उनले अस्पतालमा आईसीयू सेवा किन सञ्चालन हुन सकेको छैन भन्दै प्रश्न गरिन् । आईसीयू सेवा अत्यन्तै आवश्यक रहेको उनको भनाइ छ । भीम अस्पताल भैरहवाले यहांका नागरिक अगुवाहरुको सल्लाह सुझाव र नागरिकहरुको आवश्यकताको आधारमा अस्पतालका भौतिक पुर्वाधार एवम् स्वास्थ्यसेवालाई थप गुणस्तरीय बनाउने निरन्तर प्रयास गरिरहेको मेसु डा. गुप्ताले बताईन् ।
कर्यक्रमको संचालन अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले गरेका थिए ।
