सिद्धार्थनगरलाई सुन्दर बनाउन संचारकर्मीका सुझाव

सम्झना शर्मा । भैरहवा ,  विश्व प्रसिद्ध गन्तव्य लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको पर्यटकीय नगर सिद्धार्थनगरलाई सफा, सुग्घर, हरावरा र सुन्दर नगरको रुपमा विकास गर्न यहांका संचारकर्मीहरुले विभिन्न सुझाव दिएका छन् ।
विहीवार नगरपालिका र संचारकर्मीबीच भएको सुझात्मक भेटघाट कार्यक्रममा उपस्थित पत्रकारले नगरको समग्र विकाससंगै फोहोर व्यवस्थापन लगायतका दीर्घकालिन योजनालाई यथाशक्य कार्यान्वयनमा लैजाने र गरेका निर्णयलाई प्रभावकारी बनाउनेतर्फ सिद्धार्थनगरका जनप्रतिनिधी र कर्मचारीको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले सिद्धार्थनगर हुंदै लुम्बिनी लगायत देशका पर्यटकीय गन्तव्यमा भारत तथा तेस्रो मुलुकका पर्यटक भित्रिने नाकामै फोहोर थुपार्ने, सडकका दायांवायां कवाडीका सामानहरु डम्पिङ्ग गर्ने नदिने जस्ता विषयमा गम्भिर बन्न नगरपालिकालाई सुझाव दिए ।

नगरका उपप्रमुख उमा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको भेटघाट तथा छलफल कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले सिमानाका वेलहियामा निर्माणाधिन स्वागत गेटलाई सिघ्र पुरा गर्न सुझाव दिईन् । उनले नगरलाई सुन्दर बनाउनका लागि जथाभावी संचालन गरिएका लुम्बिनीरोडका ग्यारेजलाई सिनपा ९ स्थित अटोभिलेज व्यवस्थापन गरी स्तानान्तरण गर्न, हाट बजारलाई व्यवस्थित गर्न निर्माण सम्पन्न भएको ए ब्लक प्रयोगमा ल्याउनु पर्ने, नगरको मुख्य स्थानमा रहेको बुद्धचोकको बुद्धबाटिकालाई मर्मत गरी दायांवायां वस्नको लागि बेन्चीको व्यवस्था गर्नुपर्ने, लुम्बिनी गेट लगायत पहिचान मुलक संरचनामा लाईटिङ्गको व्यवस्था गरिनु पर्ने लगायतका सुझाव दिईन् ।

लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष एवम् पत्रकार माधव ढुंगानाले नगरपालिकाले विकास निर्माणका कामको गुणस्तरीयतामा ध्यान दिनु पर्ने, मापदण्ड कडाईका साथ लागु गर्नु पर्ने, नगरप्रहरी लगायत पालिकाका अन्य कर्मचारीहरुलाई काममा जिम्मेवार बनाउनु पर्ने लगायतका सुझाव राखे । ढुंगानाले सिद्धार्थनगरले सार्वजनिक जग्गा संरक्षणमा विषेश ध्यान पुर्याउनु पर्ने, शिक्षा, स्वास्थ्यका क्षेत्रमा देखिएका वेथितिलाई नियमन गर्न समेत नगरपालिकालाई सुझाव दिए ।

पत्रकार दिपेन्द्र बडुवालले नगरको समग्र विकासका लागी सबैले सामुहिक स्वार्थको भावना विकास गर्नु पर्ने बताए । नगरपालिकाले आफै गर्न सक्ने कतिपय काममा तदारुकता देखाउन नसक्दा स्थानीय सरकार कमजोर देखिएकोले गरेका निर्णयहरुलाई कडाईका साथ लागु गर्न सक्नुपर्ने सुझाव दिए । कतिपय अवस्थामा  जनप्रतिनिधीबाटै नगरको पर्यटन व्यवसायमा धम्की दिने, तर्साउने जस्ता गतिविधी देखिएको भन्दै सच्चिन सुझाव दिए ।

यस्तै लुम्बिनी प्रेस क्लबका निर्वतमान अध्यक्ष नरेश केशीले यस्ता सुझाव शंकलन, छलफल कार्यक्रम बजेट निर्माण अगावै गर्न सुझाव दिए । सिद्धार्थनगरले पछिल्लो समय अटो टेम्पु तथा ईरिक्सा व्यवस्थापनमा देखाएको तदारुकता सकारात्मक रहेकोले यसको बैज्ञानिक समाधान खोज्न सुझाव दिए । सिद्धार्थनगरभित्र संचालनमा रहेका संचार माध्यमको संरक्षण गर्ने स्थानीय सरकारको दायित्व रहेकोले यसतर्फ नगरपालिकाले ध्यान दिनुपर्ने सुझाव दिए ।

पत्रकार राधेश्याम विश्वकर्माले विकास निर्माणका काममा गुणस्तरहिन काम गर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्न नगरपालिका आनाकानी गरेको बताए । नागरीकको जागरुकतालाई सम्मान गर्न नगरपालिकालाई सुझाव दिए ।

पत्रकार अरुण ज्ञवालीले सिद्धार्थनगरमा रहेको रण अम्बिका शाह आंखा अस्पताललाईनमा सडक पेटीमा राखिएका ठेलाका कारण ठुलो दुर्घटना निम्तिन सक्ने भएकोले यसमा नगरपालिकाले समयमै ध्यान पुरयाउन सुझाव दिए ।  पत्रकार दिपक घिमिरे, पुनहरी वेल्वासे, प्रतिक पौडेल, शशी पन्थी, शम्भु पन्त, शंकर पाण्डे, रविन्द्र प्रताप गुप्ता, भीम भण्डारी, उर्मिला यादव लगायतले सुझाव दिदै सिद्धार्थनगरको नारालाई सार्थक बनाउन तर्फ नगरपालिकाले तुरुन्तै सुधारका काम गर्नुपर्ने बताए । नगरपालिकाको आम्दानी बढाउनका लागि कर्मचारी परिचालन गर्ने, सबै व्यवसायलाई करको दायरामा ल्याउनु पर्ने, नगरलाई सुन्दर र व्यवस्थित बनाउन नयां वसपार्क संचालनमा ल्याउनु पर्ने, मायादेवी तरकारी तथा फलफुल बजारलाई व्यवस्थित बनाउने, शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता विधालाई प्राथमिकतामा राख्ने, चौपाया व्यवस्थापन, लगायतलाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सुझावलाई मनन गर्दै नगरपालिका सुधारका काममा लाग्ने प्रतिवद्धता जनाए । सिद्धार्थनगरले चालु आर्थिक वर्षमा २६ करोड आन्तरिक राजश्व शंकलनको लक्ष्य पुरा गर्ने गरी घरदैलोमा कर्मचारी परिचालन गर्ने बताए । नगरपालिकाबाट नागरिकका लागि प्रवाह गरिने प्रशासनीक काम प्रभावकारी बनाउदै समग्र नगरको विकासमा कर्मचारी र जनप्रतिनिधी हातेमालो गरेर अगाडि बढ्ने सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले प्रतिबद्धता जनाईन् । कार्यक्रममा संचारकर्मी, नगरपालिका प्रशासन महाशाखा प्रमुख देव ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!