काठमाण्डौ । आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन साक्षरता दिवस मनाउने गरिन्छ । यस वर्ष ‘बहुभाषिक शिक्षाको प्रवर्धनस् पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता ‘ भन्ने नारासहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईंदैछ । सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा भएको छैन ।
सरकारले २०६५ सालमा अभियानको शुरुवात गरेको थियो । त्यसयता हरेक वर्ष अभियान सञ्चालन हुँदै आएको छ । डेढ दशकमा झन्डै १२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार नेपालमा अहिलेसम्म ६४ वटा जिल्ला साक्षर घोषणा गरिसकिएका छन् । अब १३ वटा जिल्ला घोषणा हुन बाँकी छन् । ती जिल्लासमेत साक्षर घोषणाको तयारीमा रहेको केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक नीलकण्ठ ढकालले जानकारी दिए ।
बागमती, गण्डकी र कोशीबाहेकका प्रदेश साक्षर घोषणा हुन बाँकी नै छन् । घोषणा हुन बाँकीमा मधेस प्रदेशका सबै जिल्लाः सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा रहेका छन् । त्यस्तै कर्णाली प्रदेशका मुगु जुम्ला, हुम्ला, कालिकोट र डोल्पा रहेका छन् । अहिलेसम्म ८५ प्रतिशत जनसङ्ख्या साक्षर भएको उनकाे भनाइ छ ।
केन्द्रले साक्षरता अभियान सञ्चालनका लागि साक्षर घोषणा हुन बाकी रहेका नगरपालिकालाई चार लाख, गाउँपालिकालाई तीन लाख र साक्षर घोषणा भइसकेका पालिकालाई दुई लाख रुपैयाँका दरले बजेट पठाउँदै आएको छ । आउँदो वर्षसम्ममा नेपाललाई साक्षर नेपाल घोषणा गरी सिकाइका अवसरहरू सुनिश्चित गर्ने सरकारको उद्देश्य छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सूनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय जाने उमेर नाघेका नागरिकलाई जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताए । ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन । ५८औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताए ।
अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका निम्ति अनिवार्य र निःशुल्क शिक्षा ऐन कार्यान्वयनसँगै साक्षरतारआजीवन सिकाइका कार्यक्रम सञ्चालनमा रहेको स्पष्ट पारे । साक्षरता कार्यक्रम सञ्चालनमा पालिकाको महत्त्वपूर्ण भूमिका हुने भन्दै उनले निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न सबैको एकताबद्ध प्रयासको खाँचो औँल्याए।
गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रूपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको शुरुवात गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विद्यालय जाने उमेरका सबै बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको बताए ।
प्रधानमन्त्री ओलीले बालबालिकालाई विद्यालयबाट ड्रपआउटु हुन नदिन सरकारले दिवाखाजा, छात्रवृत्तिलगायत अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको र यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना रहेको स्पष्ट पारे । उनले नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै जानु महत्त्वपूर्ण उपलब्धिका रूपमा अर्थ्याए ।
सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल पूर्ण साक्षर देशतर्फ अग्रसर हुँदै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्यमा लम्किरहेको बताए । ‘गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्त्वपूर्ण हुने भएकाले त्यसअनुसारको भूमिका निर्वाह गर्न आह्वान गर्दछु’, उनले भने ।
साक्षरताका लागि विभिन्न १२ सूचक तोकिएका छन् । जसमा राष्ट्रभाषा वा मातृभाषाका वर्ण र अक्षरको पढ्न र लेख्न जानेको हुनुपर्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्य सूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न, एक देखि एक सयसम्म गणना गर्न सक्नेलगायत रहेका छन् ।
त्यस्तै लेनदेनका हरहिसाब राख्न सक्ने, पोस्टर साइनबोर्ड र ट्राफिक संकेत पढ्न र बुझ्न सक्ने, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्ते पात्रो हेरी तिथिमिति बताउन सक्ने, बैंक भौचर भर्न र चेकको प्रयोग गर्न सक्ने भएमा व्यक्ति साक्षर मानिने केन्द्रको सूचक छन् ।
