भैरहवा । स्थलमार्ग हुदै नेपाल भित्रिने अधिकांश पर्यटकहरु वेलहिया नाका हुदै नेपाल प्रवेश गर्ने गर्छन् । गौतमबुद्धको जन्मस्थल, विश्वभरका बौद्यमार्गीहरुको आस्थाको केन्द्र लुम्बिनीमा स्थलमार्गहुदै पर्यटक आउने वेलहिया सिमानाकाका अलपत्र र हिलाम्मे सडक, विग्रीएका सवारी साधन, र अपुरो गेटले नेपालको पर्यटनलाई गिज्याईरहेको छ ।
लुम्बिनीलाई आधार मानेर यस प्रदेशलाई पर्यटनको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश बनाउने सरकारको नारा रहेपनि नेपाल प्रवेश गर्ने ढोकैमा देखिने यस्ता दृष्यले उत्साह बोकेर नेपाल घुम्न आउने पर्यटकको मन खिन्न हुने गरेको छ । वेलहिया नाका हुदै दैनिक दुई सयको हाराहारीमा तेस्रो मुलकका पर्यटकहरु सो नाका हुदै नेपाल भित्रिने गरेको पर्यटन सुचना केन्द्र वेलहियाको तथ्यांकले देखाउंछ । यति ठुलो संख्यामा पर्यटक भित्रिने नाका व्यवस्थित गर्न भने कसैको ठोस योजना नै देखिदैन् ।
भारत हुदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकहरुलाई भारतीय बसले नेपाल प्रवेश गराउंछ । लुम्बिनी लगायत यससंग सम्बन्धित स्थानहरुको विषयमा जानकारी दिने पथप्रर्दशक पनि भारतीय नागरिक नै हुनेगरेका छन् । यसरी भारतीय सवारीमा वसेर नेपाल आउंदा पर्यटकलाई हामी नेपाल प्रवेश गर्दैछौ भन्ने खास जानकारी पनि नहुने यसका जानकारहरु बताउंछन् ।
भारतका बोधगया, कुशीनगर लगायत बुद्धसंग सम्बन्धित सबै ठाउंहरुमा भ्रमण गराएर पर्यटक स्वदेश फर्किन एकदुई दिन मात्र बांकी छदा भारतीय गाईडले लुम्बिनी ल्याउने र सोही दिन फिर्ता लैजाने गरेका छन् । जसका कारण लुम्बिनी जस्तो विश्वको शान्ति भुमि रहेर पनि नेपालले पर्यटकको बसाई लम्बाउन र यसबाट फाईदा लिन सकिरहेको छैन् । नेपालले पर्यटनको क्षेत्रलाई व्यवस्थित गर्न नसक्नु भारतका लागि पर्यटकलाई उतै वास वसाउन सहज बनेको छ । यस कारण नेपालको पर्यटन क्षेत्र कमजोर बन्दैछ ।
भारतीय सिमा हुदै नेपाल भित्रिने क्रममा पर्यटकलाई भारतीय नम्बर प्लेटका गाडिहरु प्रयोग गर्न दिईनु आफैमा ठुलो नोक्शानी हो । यदि नेपालले पर्यटन क्षेत्रलाई समृद्धिको आधार मान्छ भने सिमाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली सवारी साधनहरुले यहांका पर्यटकीय गन्तव्यसम्म पुरयाउने व्यवस्था मिलाउन जरुरी देखिन्छ ।
यस्तै लुम्बिनीको विषयमा समय समयमा विवादित कुराहरु बाहिर आउने गरेका छन् । कतिपय अवस्थामा तेस्रो मुलुकका पर्यटकलाई भारतीय पथप्रर्दशकले गलत सुचना दिने सम्भावना रहन सक्छ । किनकि भारतीय गाईडले नेपाल र लुम्बिनीका विषयमा सही जानकारी दिन्छ भनेर विश्वास गर्न सक्ने आधार हुदैन् । जसका कारण पर्यटकले लुम्बिनी र यससंग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राम, रोहिणी जस्ता पवित्र भुमीको विषयमा जानकारी नै पाउंदैनन् । जसले गर्दा उनीहरु लुम्बिनी एक दुई घण्टा घुमेर फर्किने गरेका छन् ।
नेपाल प्रवेश गर्ने वित्तिकै पर्यटकलाई हामी नेपाल प्रवेश गर्दैछौं भन्ने जानकारी पाउनका लागि पर्यटक सुचना केन्द्रमा केहीवेर विश्राम गर्ने, सुचना बोर्ड हेर्ने र नेपालका ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिने कुनै व्यवस्था नहुंदा पर्यटक अन्योलमा पर्ने गरेका छन् । पर्यटक सुचना केन्द्रमा कति प्रवेश गरे र कति बाहिरीए बाहेक पर्यटकका लागि कुनै थप सुविधा छैन् । गर्मीले आकुल व्याकुल अवस्थामा आउने पर्यटकलाई पिउने पानी, शौचालयको व्यवस्था नै नहुंदा पर्यटकहरुले नेपालको पर्यटन क्षेत्रलाई विश्वास गर्न नसक्ने अवस्था आईरहेको छ । वेलहियामा रहेको पर्यटक सुचना केन्द्रमा ८ जना पर्यटक प्रहरी त छन् तर प्रयाप्त भौतिक पुर्वाधार र स्रोतको कमिले गर्दा यसले पर्यटकलाई सबै सुचना दिन भने सकेको छैन ।

सिमामा निर्माणाधिन अवस्थामा रहेको अलपत्र गेटले नेपाललाई नै लज्जित बनाएको छ । खिया लागेका फलामको फाउण्डेशन तयार गरेर बांकी काम यतिकै छोड्दा पर्यटकलाई स्वागत गर्न सिद्धार्थनगर पालिकाले निर्माण गर्न लागेको गेटले नेपाललाई कुरुप चित्रण गरेको जस्तो लाग्छ । सिद्धार्थनगरलाई हरियाली, हराभरा,फुलैफुलको नगर भनेर चिनाउने नगर प्रमुख ईश्तियाक अहमद खांनको सपनालाई समय थप गर्दा पनि निर्माण सम्पन्न नभएको यो अपुरो गेटले मजाक बनाईरहेको छ । लक्ष्मी निर्माण कम्पनीले १ करोड ६५ लाखमा ठेक्का सम्झौता गरेपनि म्याद थप गर्दै लड्एको छ । प्रवेशद्धार जस्तो नेपालको गरीमा जोडिएको सिमामा समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले म्याद थप गर्दै गएको छ ।
यस्तै निर्माण सुरु भएको आठ वर्षसम्म काम सम्पन्न गर्न नसकेको बुटवल वेलहिया सडकखण्ड अन्तर्गत वेलहियाको यो फोहोर र हिलाम्मे सडकले गिज्याईरहेको अवस्थाले पर्यटकलाई नेपालप्रतिको नकारात्मक धारणा बनाउन सहयोग गरिरहेको छ । जसका कारण उनीहरु छिटो भन्दा छिटो लुम्बिनी पुगेर फर्किन चाहन्छन् । पटक पटक ताकेता गर्दापनि काम गर्न नसकेर कालो सुचीमा परेको ठेकेदार कम्नीले विग्रीएको जेसिबी ५ महिनादेखि नेपाल प्रवेश गर्ने नाकामै ठडाएर राखेको छ । यस्तो लाग्छ पर्यटकलाई स्वागत गर्ने त्यही जेसिवी नै हो । तर यसलाई त्यहांबाट हटाउन तर्फ कुनै निकायको ध्यान गएको छैन् ।
सडक विस्तारका क्रममा भत्काईएको अध्यागमन कार्यालय सम्पन्न नहुंदा करीब एक किलोमिटर टाढा रहेको अध्यागमन कार्यालय खोज्दा खोज्दै पर्यटक थाकिसकेका हुन्छन् जसका कारण पर्यटकले हैरानी महसुस गरेको पाईन्छ । पर्यटकले शान्त, रमणिय र सुन्दर वातावरण, पारिवारिक आतिथ्यता चाहेको हुन्छ तर नेपाल प्रवेश गरेदेखि लुम्बिनी पुग्दा सम्मको सडकको दुर्दशा, सडकको दायांवायां देखिने कवाड, वर्षौंसम्म अलपत्र पुल आदि कारणले पर्यटकको मानसपटलमा नेपालप्रति नैराश्यता देखिने गरेको छ । अव्यवस्थित सडकका कारण सवारी दुर्घटना, अशुरक्षित हवाई यात्रा जस्ता विषयमा सरकार गम्भिर बन्न नसक्दा नेपालले पर्यटनको ठुलो अवसर गुमाईरहेको अवस्था छ ।
विरोध गर्न अगाडि लाग्ने पर्यटन व्यवसायीहरुले पनि पर्यटकलाई समय समयमा विभिन्न अफरहरु दिने, नीजि क्षेत्रबाटै केही सौन्दरीकरणको पहल गर्ने, पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययनमा सरकारलाई सहयोग गर्ने जस्ता पर्यटन प्रवद्धनका काममा खासै चासो दिएको पाईदैन् । पर्यटन व्यवसायीहरुले पटक पटक सिमानाका व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि व्यवसायी र सरकारका निकायबीचको समन्वय नहुंदा पर्यटनको सम्भाव्यता र यसबाट लिन सकिने अवसर गुम्दैगईरहेका छन् । हरेक सेप्टेम्बर २६ तारीख विश्व पर्यटन दिवशको अवसरमा यहांका व्यवसायीहरुले सिमानाका वेलहियामा पर्यटकलाई स्वागत गर्दै पर्यटन दिवश मनाउने गरेका छन् । यस वर्ष पर्यटन दिवस मनाउने तयारी गरिरहंदा सिमामा सरसफाई एवम् सुन्दरीकरणमा ध्यान दिन जरुरी छ ।
