भैरहवा । भैरहवामा कार्यरत प्रहरी हवलदारलाई अख्तियारले घुस सहित पक्राउ गरेको छ । नवलपरासी (सुस्तापश्चिम) को प्रहरी चौकी भुजुवा दरबन्दी भई रुपन्देहीको भैरहवास्थित अस्थायी प्रहरी बिट बसपार्कमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
बिहीबार भारतबाट भगवानपुर नाका हुँदै भन्सार छली अवैध रुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोली उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
हवलदार खड्का लामो समय घुमुवाको रुपमा रही रुपन्देहीमा काम गरेका हुन । उन्को सरुवा जता भएपनि रुपन्देहीलाई नै रोजाईको रुपमा राखेका थिए । उनलाई रुपन्देहीकै रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित सेमरहवा चौक नजिकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
