स्थानियका समस्या कार्यतालिका नै बनाएर सम्बोधन गर्ने प्रयास, आइतबारबाट विहारमा पर्यटकिय बसले प्रवेश नपाउने

भैरहवा । लुम्बिनी विकास कोष परिषरमा अवस्थित बिहार तथा गुम्बाहरुले गेष्ट हाउस संचालन गरी व्यवसाय नै गरेको भन्दै पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी र लुम्बिनी बिकास कोष बिच छलफल भएको छ ।
लुम्बिनी होटल संघ नेपालको पदाधिकारि र लुम्बिनी विकास कोष बीच बुधबार भएको छलफलबाट विभिन्न निर्णय गरिएको छ ।

छलफलले एक महिना भित्र आचारसंहिता सहित बिहार सन्चालन कार्यविधी बनाउनका लागि ९ सदस्यीय समिति गठन गरेको छ । लुम्बिनी विकास कोषका सूचना प्रमुख डा. हरिध्वजराई सहित ३ जना प्रतिनिधी, लुम्बिनी होटल संघ नेपालको प्रतिनिधी २ जना, विहार समितिको प्रतिनिधी २ जना, लुम्बिनी सास्कृतिक नगरपालिकाको प्रतिनिधी १ जना र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि १ जना गरि ९ सदस्यीय समिति बनाईएको लुम्बिनी होटल संघ नेपालको अध्यक्ष गोबिन्द ज्ञवालीले बताए ।

लामो आन्दोलन पछि दुवै पक्षको सहमति र छलफल अनुसार यो नतिजा ल्याउन सकेका छौ, यो आन्दोलनको प्रतिफल हो । समितिले तयार गरेको कार्य विधि अनुसार नै बिहारहरु संचालन हुने अध्यक्ष ज्ञवालीले भने ।
ज्ञवालीका अनुसार विगतमा जसरी पर्यटक सहित आएको बस सिधै गुम्बामा गई बस्ने गरेकोमा अबको आइतबारबाट सो कार्यमा बन्देज लगाइएको छ । विकास कोषमा रहेका विहारहरुमा पर्यटक व्यवसायिक रुपमा नराख्नका लागि नै यो सहमति भएको हो ।

यसैगरि लुम्बिनीमा रहेको कन्फ्रेन्स हललाई व्यवस्थित रुपमा कसरी संचालन गर्ने भन्ने बारे पनि छलफल भएको थियो । छलफलले छिटै एक समिति बनाई दीर्घकालिन कार्ययोजना सहित प्रतिवेदन बनाउने छ । भने यस्तै लुम्बिनीलाई कसरी अध्यात्मिक बतावरण बनाउन सकिन्छ भन्ने विषयमा गृहकार्य गरी कार्ययोजना र समिति गठन गर्ने विषयमा छलफल भएको थियो ।

छलफलमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषाध्यक्ष ढुण्डीराज भट्टरई, बरिष्ठ प्रशासकिय अधिकृत ज्ञानिन राई, सूचना प्रमुख हरिध्वज राई, सुरक्षा प्रमुख खगेन्द्र काफले, बरिष्ट लेखा प्रमुख नवल किशोर यादव, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष सहितको पदाधिकारी, प्रतिनिधी सदस्यहरुको सहभागी थिए ।

लुम्बिनी आएका पर्यटकहरु होटलमा नगई सिधै विहारमा जाने र व्यवसायिक रुपमा बिहार तथा गुम्बाहरुमा बस्दै आएपछि लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरु आन्दोलित बनेका थिए । विगत एक दशक अगाडिबाट होटल व्यवसायीको कोषसँगको लडाई थियो, कोषले बेवास्ता गर्दै आएको थियो । धार्मिक पर्यटक वा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्नु पर्छ भनि स्थानीयहरुले पनि ऐक्यबद्धता जनाउदै आएका थिए ।

लुम्बिनी क्षेत्रमा स्टार होटल सहितका ८२ वटा साना ठूला होटल सञ्चालनमा छन् । लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा अहिलेसम्म निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब बढी लगानी भएको छ ।

लुम्बिनी विकास कोष विहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षुरभिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप ५ जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था छ ।

लुम्बिनीमा बनेका गौतमी भिक्षुणी बिहारले दैनिक एक सय ५० पाहुना राख्न मिल्ने गरी भवन बनाएको छ । यस्तै, गोल्डेन टेम्पल म्यानमारले दुई सय ५०, कम्बोडियाको बिहारले दुई सय, महाबोधि सोसाइटीले एक सय २०, राजकीय थाई बिहारले तीन सय, कोरियन बिहारले पनि तीन सय, बज्रयान बिहारले दुई सयजना पाहुना एकैपटक राख्न सक्छन । चाइना बिहारमा दुई सय ५०, क्यानेडियन बिहारमा एक सय २०, सिंगापुरको बिहारमा सयजना पर्यटक राख्ने क्षमता छ । निर्माणाधीन अवस्थामा रहेका कर्मा साम्तेङ बिहार र क्वालाम्पुर बिहारले १५० बढि कोठा निर्माण गरिरहेका छन ।

यस्तै लुम्बिनी विकास कोषले स्थानियका समस्या कार्यतालिका नै बनाएर सम्बोधन गर्ने प्रयास गरेको छ । स्थानीय बासिन्दाले उठाएका सकारात्मक मागहरुबारे लुम्बिनी विकास कोषले १४ वटा बुँदामा कार्य सम्पादन तालिका बनाएर सम्बोधन गर्ने भएको हो । लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरण को अध्यक्षतामा लुम्बिनी बचाऔं महाअभियान र लुम्बिनी होटल संघ नेपाल सहित सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल गरी कोषले माग सम्बोधन गर्ने भएको हो ।

स्थानीयहरुसँग कोभिड पछाडि बन्द रहेको लुम्बिनी संग्राहलय असोज १ गतेबाट सबैका लागि खुला राख्ने, मायादेवि मन्दिरको स्वरुप परिवर्तन र पुर्नसरचना गर्न नपाईने, स्थानीयसंग लुम्बिनी कार्यक्रम अन्तर्गत संरक्षण शुल्कको दश प्रतिशत स्थानीय पालिका संग सहकार्य र साझेदारी गर्न संयुक्त कार्यविधि बनाउने, मोनाष्टी र होटल व्यवसायी र अन्य सरोकारवाला संलग्न रहेको कार्यविधि निर्माण गर्ने एक कार्यदल बनाउने, मायांदेवि प्रवेश शुल्कबारे सर्वोच्च अदालतको निर्णय कार्यन्वयन गर्ने लगायतका बिषय रहेको छ । यसैगरी कतिपय नीतिगत सुधारका पक्षमा कोषको परिषद बैठकमा प्रस्ताव लैजाने पनि संघर्षरत पक्षसंग कोषले सहमति गरेको छ ।

स्थानीय लुम्बिनी बचाऔं महाभियान र होटल एशोसियसन लुम्बिनीले विभिन्न मागहरु राखेर कोषमा धर्ना र तालाबन्दी समेतका आन्दोलनका कार्यक्रमहरु भएका थिए ।

कोषले गत जेष्ठ महिनामा कोषाध्यक्ष ढुण्डिराज भटराई९सिद्धिचरण० को संयोजकत्वमा सरोकारवाला र लुम्बिनी सांस्कृतिक नगरपालिका समेत रहेको कार्यदल बनाएको थियो । उक्त कार्यदलले दिएको १२ बुँदे तत्काल कार्यन्वयन गर्न सकिने सवालहरु यकिन गरेर कोषलाई सिफारिस समेत गरेको थियो ।

यसैगरी होटल व्यवसायी संघ र लुम्बिनी स्थित बौद्ध विहारहरुले गेष्ट हाउस चलाएको भन्ने बिषयमा विवादहरु उत्पन्न भएकोमा एक संयुक्त अध्ययन कार्यदलले समेत प्रतिवेदन दिएको थियो । ति सवाललाई कार्यन्वयन गर्ने बिषयमा कार्यवाहक उपाध्यक्ष समेत रहेका भट्टराईले साउन २३ गते कोषका सदस्य सचिव, योजना प्रमुख तथा शाखा प्रमुखहरुलाई राखेर कोषको स्पष्ट धारणा तयार गर्न निर्देशन दिएका थिए ।

बैठकपछि स्थानीयहरुसंगको सहकार्य र सहमतिले लुम्बिनीको विकासमा सकारात्मक परिवर्तन ल्याउने आशा जागेको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । भएका कार्यसम्पादन तालिका र सहमतिका बुँदाहरुलाई कोषले इमान्दारीपुर्वक कार्यन्वयन भएमा स्थानिय जनतामा कोषप्रति बिश्वास जागृत हुने लुम्बिनी बचाऔं अभियानका संयोजक अकरमुद्धिनले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!