समाज सेवाका महासागरः धर्मराज श्रेष्ठ (भिडियाे सहित)

भैरहवा ।  “घर मेरो कालापानी बस्ती मेरो पैंयु, दार्जिलिङ्गमा शिक्षा पाए सर्टिफिकेट कैयौं ।” जब हाम्रो टिम धर्मराज श्रेष्ठ(धर्म काका) को घरमा पुग्यौ । कुरा सुरु गर्नासाथ यही श्लोकबाट सुरु गर्नुभयो कुराकानी । उहांसंग बसेर पहिलो प्रश्न गर्दै थिए तपाईको जन्म कहां भएको हो । “भन्नुभयो कालापानी ” फेरी त्यही नलेख्नु नी भनेर काका हांसेपछि मैले बल्ल बुंझे उहां ठट्टा गर्न माहिर हुनुहुन्छ ।

सिद्धार्थनगर हाडबजार लाईन निवासी धर्मराज श्रेष्ठ नेपाली समाजमा चिरपरिचित नाम हो । जसलाई समाजसेवी परोपकारी मनका धनी भनेर मानिसहरु बुझ्ने गर्छन् । उमेरले ८४ वर्षे धर्मराज श्रेष्ठ सक्रियताको हिसाबले १६, १७ वर्षे ठिटो भन्दा कम हुनुहुन्न । सबैका प्रिय व्यक्तित्व धर्मराज श्रेष्ठलाई सम्मान स्वरुप धर्मकाका भनेर बोलाउने गर्छन् । उहां सबैको साझा काका हुनुहुन्छ ।

कर्म नै धर्म हो भनेर आफ्नो कर्ममा अविचलित रुपमा अनवरत लाग्ने उहां अहिले पनि उस्तै जांगरिला हुनुहुन्छ । हुने विरुवाको चिल्लो पात भनेझै धर्मराज श्रेष्ठ सानै उमेरदेखि पौरखी हुनुहुन्थ्यो। परोपकारी भावनाले ओतप्रोत धर्मराजको बाल्यकाल भने निकै पीडादायि वित्यो । उहांका बाबा आमा वर्मामा सानो किराना पसल संचालन गर्नुहुन्थयो । विडम्बना भनौ या भाग्यको खेल भनौं १९३९ मा भएको दाेस्रो विश्वयुद्धले धर्मराजको मातृ स्नेहलाई चुड्यो ।

धर्मराज त्यतिवेला मात्र ८ महिनाको दुधे बालक हुनुहुन्थयो । जव विश्वयुद्धमा वर्मामा समेत आक्रमण सुरुभयो सबैलाई आफ्नो ज्यान जोगाउन मुस्किल परयो । युद्ध चर्किदै जांन थालेपछि धर्मराजका बाबा आमाले आफ्ना दुई सन्तान काखमा च्यापेर जंगलको बाटो नेपाल आउने प्रयत्न गर्दै हुनुहुन्थयो । हुलदंगामा भागाभाग गर्नेक्रममा एक्कासी आमा कहां छुट्नुभयो पत्तो भएन् । संगै हिडेका श्रीमान् र दुईछोराछोरीको साथ छुटेपछि उहां कहिल्यै भेटिनुभएन् । आठ महिनाको छोरा धर्मराज र चार वर्षकी छोरीलाई च्यापेर उहांका बुवा बल्लतल्ल नेपाल आईपुग्न सफल हुनुभयो । त्यो बिचमा डाकाले डकैति गरेर साथमा भएको सबै पैसा, सरसामान, धर्मराजको कानको मुन्द्रा समेत लगिदियो । कानको मुद्रा जवर्जस्ती तान्ने क्रममा उहांको दुबै कानमा अहिले पनि ठुल्ठुला प्वाल छन् ।

आठ महिनामा आमा गुमाएका धर्मराजले त्यसको केही वर्षमै बाबाको माया पनि गुमाउनु भयो । श्रीमति विछोडको पिडाले धर्मराज काकाका बुबा धेरै वाच्न सक्नु भएन् । बाबा आमा विनाको बाल्यकाल कति एक्लो थियो भन्ने हामी अनुमान मात्र गर्न सक्छौं । टुहुहाको लागि भगवान हुनुहुन्छ भनेजस्तै धर्मराजलाई उहांकी फुपुले कहिल्यै बाबा आमाको कमि महसुन हुन दिनुभएन । आठ महिनाको उमेरदेखि बुटवलमा फुपुको छत्रछायामा हुर्किनु भएका उहां सानैदेखि जिम्मेवार र लगनशिल हुनुहुन्थयो । सानै उमेरमा परोपकारी संस्थामा लागेर समाजसेवामा अग्रसर हुनुभयो । त्यतिवेला शिक्षालाई खासै प्राथमिकता दिईदैनथ्यो ता पनि २००८ सालमा उहां बुटवलको आदर्श विद्यामन्दिरमा भर्ना भई अध्ययन गर्ने मौका पाउनु भयो । पढ्दा पढ्दै ६, ७ वर्षको उमेरदेखि नै खाली समयमा सुपोमा काईयो, चुरा टिका, चुरोट, सलाई आदि सामान राखेर बेच्ने गर्नुहुन्थयो । “सांझको समयमा टुकी बालेर सामान बेच्थे त्यो वेला उहां स्मरण गर्नुहुन्छ । ” त्यतिमात्र होईन सानै उमेरबाट स्वावलम्वी स्वभावका धर्मराजले आफुभन्दा साना भाईबहिनी जम्मा गरेर ट्युसन पढाउने गर्नुहुन्थयो । आय आर्जनमा सानैदेखि रुची राख्ने धर्मराज कहिल्यै फुपुको लागि बोज बन्नु भएन् ।

उमेर बढ्दै गयो, धर्मराज लक्का जवान देखिन थाल्नुभयो । जिम्मेवारी बोधका कारण उहां युवा अवस्थामा कसैको लहलहैमा लाग्ने, पैसा खर्च गर्ने कहिल्यै गर्नुभएन । बरु १६, १७ वर्षको उमेरमै नेपाल युवक संगठन बुटवल युनिटको अध्यक्ष बन्नु भयो । “त्यतिवेला संगठनको अध्यक्ष बन्नको लागि एमए गरेका युवाहरु प्रतिस्पर्दामा थिए । कुन्नी म मा त्यस्तो के देखे सबैले मलाई चुने र म अध्यक्ष भएं उहां भन्नुहुन्छ । ” २०१८ सालमा राजा महेन्द्रले कु गरेपछि नेताहरुलाई जेल हाल्न थाले अनि म पनि कतै जेल जानुपर्नेत होईन भनेर डराएं उहांले भन्नु भयो । मिजासिला धर्मराज विस्तारै व्यवसायतर्फ आर्कर्षित हुदै नेपालको पहिलो भन्सार एजेन्ट बन्नु भयो । जुन व्यवसाय अहिले पनि उहां निरन्तर गर्दै आईरहनु भएको छ । तत्कालिन श्री ५ को सरकारका पालामा भन्सार विभागबाट धर्मराज सम्मानित समेत हुनुभयो । उहां भैरहवा भन्सार कार्यालयको समेत संस्थापक भन्सार एजेन्ट हुनुहुन्छ ।

कर्म नै धर्म हो, कर्म र भाग्यको मिलनले मात्र भविश्य उज्ववल हुन्छ भन्ने मान्यता राख्ने धर्मराजको जोडि वास्तवमै भगवानले तयार गरेर पठाएको जस्तै लाग्छ । २०२२ साल फागुनको ४ गते भैरहवा निवासी सिता श्रेष्ठसंग बैवाहिक बन्धनमा बाधिनु भयो । उहांकी धर्मपत्नी सिता पेशाले नर्स हुनुहुन्थयो । उहां नेपालको पहिलो व्याचको अनमी नर्स हुनुहुन्छ । सिता पनि आफ्ना पतिजस्तै कमलो मन भएकी परोपकारी हुनुहुन्छ । आफन्तिकोमा आउजाउ गर्दागर्दै एकआपसमा मन पराएर विवाह सम्म पुगेको उहांहरुको जोडि चखेवाको जोडि जस्तै मधुर छ ।

आफैमा एउटा सिंगो ईतिहास बोकेको व्यक्तित्व धर्मराज काका १९९२ देखि लायन्स क्लबमा आवद्ध रहनु भएको छ । लायन्सका संस्थापक मेल्विन जोनलाई गड फादरका रुपमा मान्ने धर्मराज श्रेष्ठ नेपालमै पहिलो एम.जे.एफ.हुदै पहिलो पि.एम.जे.एफ उपादिमा हुनुहुन्न्छ । नेपालमा लायन्स विस्तार गर्न उहांको ठुलो भुमिका छ । धर्मराज भैरहवा लायन्सका जन्मदाता समेत हुनुहुन्छ । सिता यसको संस्थापक ।

करीब १२ वटा विभिन्न देश भ्रमण गर्नुभएका धर्मराज पेशा व्यवसाय, संघ संस्था, समाज सबैमा अनुभवी व्यक्तित्व हुनुहुन्छ । ज्ञानको भण्डार धर्मकाका भन्नुहुन्छ “मानिस भएर जन्मेपछि समाज र अरु मानिसका लागि केही न केही गर्नै पर्छ तब मात्र मानव जीवनको सार्थकता रहन्छ । ” उहांको समाजप्रतिको सेवाभावमा योगदान स्वरुप दर्जनौ संघसंस्थाशरुबाट सम्मानित हुनुभएको छ । परोपकारी संस्थाको संस्थापकको रुपमा समेत उहां सरकारबाट समेत सम्मान प्राप्त गर्नुभएको छ । सम्मान पत्रले धर्मराजको घर नै भरिएको छ ।

ईमान्दारितामा कहिल्यै नचुकेका धर्मकाका थप भन्नुहुन्छ “ विद्यान हुदैमा महान हुदैन् , पैसा भएर मात्र धनि मानिदैन । महान त्यो हो जसले मानव समाजका लागि आफ्नो कर्तव्य बोध गर्छ । अथाहा सम्पती भएर पनि समाजमा योगदान गर्दैन भने त्यो धनको अर्थ हुदैन ।”सायद यसैले होला धर्मराज काकाले मन ठुलो पारेर समाजका लागि सेवाको महासागर बनिदिएको । धनले म धनि होईन् तर ईच्छा गरेपछि भगवानले पुरयाईदिनु भएको छ उहां भन्नुहुन्छ । चार जना छोराछोरीको लागन पालन ,शिक्षा, विवाह कर्म आदि सबै जिम्मेवारी पुरा गर्नुपर्ने दायित्व हुंदाहुंदै पनि त्यसैबाट बचाएर थोरै संघसंस्थाहरुलाई सहयोग गर्ने बानी वसेका धर्मराजलाई सहयोग गर्न पाउंदा संसारकै सबैभन्दा खुशी मिलेको अनुभुति हुन्छ भन्नुहुन्छ । 

उहांले त्यो समयमा पनि आफ्ना छिमेकीलाई परेको अप्ठेरोमा साथ दिने गर्नुहुन्थयो । संघसंस्थामा उहांको अनुकरणिय योगदान रहेको छ । लायन्स क्लबको उद्देश्यलाई पुरा गर्न जग्गा प्राप्तीदेखि लिएर भवन निर्माणमा उहांकै देन छ । भैरहवा मात्र नभएर नेपाल तथा भारतका विभिन्न मठमन्दिर, धार्मिक स्थल, विश्राम स्थल लगायत निर्माणमा उहांको सबैतिर योगदान रहेको छ । दिन दुःखीलाई सहयोग गर्नेदेखि विभिन्न संस्थाहरुमा अक्षयकोष स्थापना गरेर गरीब तथा जेहेन्दार विद्यार्थीको भविश्य साकार पार्ने काममा उहां उदारहणिय व्यकित्त्व हुनुहुन्छ ।

भैरहवा नमुना मावि, मेउडिहवा आधारभुत विद्यालय, भानुमावि, संस्कृत विद्या आश्रम लगायत थुप्रै विद्यालयहरुमा अक्षयकोष मार्फत शिक्षाको विकासमा योगदान पुरयाउनु भएको छ । यस्तै स्वास्थ्यको क्षेत्रमा समेत महत्वपुर्ण योगदान रहेका धर्मराजले सिद्धार्थनगर दरखसहवामा निर्माणाधिन ब्लड बैंकमा ठुलो सहयोग गर्नुभएको छ । प्रत्यक्ष, परोक्ष अथाहा सहयोग गर्नुभएका धर्मराज श्रेष्ठ वास्तवमै समाज सेवामा महासागरको रुपमा अटल हुनुहुन्छ । सिंगो समाजको अभिभावकको रुपमा क्रियाशिल धर्मकाका धरै युवाहरुको लागि उर्जा र प्रेरणाको स्रोत हुनुहुन्छ । सरल जीवन शैली, सकारात्मक सोंच, सहयोगी भावनाले स्वयम् मानिसको जीवन दीर्घ हुन्छ भन्ने गर्भिलो उदाहरण समेत हुनुहुन्छ धर्मकाका ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!