काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै १८ जनाको शव घटनास्थलबाट संकलन गरिएको जानकारी दिएको छ।
दुर्घटनामा क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलबाट निकालिएको शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार सौर्यको ९ एन-एएमई/सिआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ मिनेटमा जहाज पोखराका लागि उडेको हो।
जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ। जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिएर रनवेको पूर्वमा दुर्घटना भएको हो।
विमान २१ वर्ष पुरानो
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान २१ वर्ष ४ महिनाअघि निर्माण भएको पाइएको छ ।
५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो ।
बम्बार्डियरले सन् २००३ मे मा सो विमान अमेरिकी वायुसेवा प्रदायक कम्पनी एट्लान्टिक कोस्ट एअरलाइन्सलाई बेचेको थियो ।
एट्लान्टिक कोस्ट एअरलाइन्सले अगष्ट २००४ मा अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाई सो विमान बेचेको थियो ।
इन्डिपेन्डेन्स एअरबाट सन् २००७ जुनमा किनेर नाइजेरियाको अरिक एअरले यो विमान सन् २००८ अप्रिलसम्म उडाएको थियो ।
अरिक एअरबाट दक्षिण अफ्रिकाको एसए एक्प्रेसले अप्रिल २००८ मा यो विमान किनेको रेकर्डमा देखिन्छ । त्यसपछि पुनः अमेरिकाको एरोलिजले सन् २०१७ जनवरीमा लिएर नेपालको सौर्य एअरलाइन्सलाई २०१७ मार्चमा बेचेको थियो ।
सौर्य एअरलाइन्सले यही एउटा विमानबाट आन्तरिक उडान भरिरहेको थियो । भएको एउटै विमान दुर्घटनामा परेपछि सो वायुसेवा प्रदायक कम्पनी अब विमानविहीन भएको छ ।
