वेपत्ताकाे खोजीका लागि भारतीय टोली परिचालन

भैरहवा । गत शुक्रवार चितवनको सिमलतालमा गएको पहिरोबाट वेपत्ता भएको दुई वटा बस र यात्रुको खोजीका लागि भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली  खोजतलासका लागि घटनास्थल पुगेकाे छ ।  शुक्रबार मध्यरातमा रुपन्देहीको बेलहिया नाका हुदै नेपाल आएको टाेली उद्वारमा चाहिने उपकरण सहित आएका छन ।

त्रिशूली नदीमा खसेका बस र यात्रुको खोजीका लागि ४ वटा गाडी सहित राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका डेपुटी कमान्डेन्ट कुनाल तिवारी सहितको टोली नेपाल आएको हो । गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा भारतका ती टोली राती १२ बजे बेलहिया नाका हुदै नेपाल आएको हो,सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले उनीहरुलाई स्वागत गरी भैरहवामा राखेको थियो । उनीहरु राती भैरहवामा बास बसी विहानै चितवन तर्फ प्रस्थान गरेका थिए । चितवनमा उद्वार गर्नका लागि नै ती टोली नेपाल आएका हुन । सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय बेलहिया, भन्सार कार्यालय, अन्नपुर्ण टर्मिनल, अध्यागमन कार्यालयको समन्वयमा मध्यरातमै ती गाडी सहितको टोलीलाई स्वागत गरिएको थियो ।

खोजतलासमा परिचालन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित यहाँका सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको थियो । छलफलपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये चार जना गोताखोर रहेको बताए। आज टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गर्ने उनले बताए।

खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथाशक्य छिटो खोजतलासको काममा जुट्ने बताए। उनले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने बताए। धमिलो र उच्च बहावका नदीमा खोजतलास कार्य भारतमा गरेको भन्दै उनले यहाँ काम गर्न सकिने बताए।

पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका छन् । उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको यादवले जानकारी दिए। ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने जानकारी दिए। टोली सात दिनसम्म रहने उनको भनाइ छ । नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । गृहमन्त्रालयको विपद् महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालका अनुसार ती टोली आजै घटनास्थल पुगी खोजीकार्य गर्नेछन ।

राष्ट्रिय विपद प्रतिकार्य फोर्स भारतका एक जना विज्ञ सहित १२ जना रहेका छन । उनीहरुले उद्वारका लागि चाहिने डोरी, पानी भित्र प्रयोग हुने संचार यन्त्र, कम्प्रेसर मेसिन सेट, लाइफ ज्याकेट, टेन्ट, पानी भित्रको डिभाइडर, रेन कोट लगायतका आवश्यक सामाग्री र उपकरण लिएर आएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

सिमलताल दुर्घटनाको आज आठौँ दिन भएको छ । अहिलेसम्म विभिन्न ठाउँमा गरी २३ वटा शव भेटिएको छ । दुई बसमा गरी ६५ जना सवार रहेकोमा तीन जना सकुशल फेला परेका थिए । अझै ३९ जना यात्रु र बसको अवस्था थाहा हुन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!