अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना छैन, बाढीपहिरोमा परि १ सय ८ जनाको ज्यान गयो

दुईवटा बस र ५७ जना यात्रुको अवस्था अझै थाहा छैन

काठमाण्डौ । मनसुनी वायु कमजोर भएकाले अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना छैन । तर केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने उहाँले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको नियमित मौसम बुलेटिनमा आज बेलुकी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उल्लेख छ । तर अघिल्लो हप्तातिर जस्तो देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना अबको तीन दिन नरहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ ।

बाढीपहिरोमा परेर एक महिनामा १ सय ८ जनाको ज्यान गयो

देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण एक महिनामा एक सय आठ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोलगायत विपदमा परेर एक सय आठ जनाको ज्यान गएको हो ।

ज्यान जानेमा काठमाण्डौ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जना रहेका छन् । यस्तै एक सय १९ जना घाइते भएका छन् । बाढीको कारण एक सय ८२ घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

यस्तै दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् ।

दुईवटा बस र ५७ जना यात्रुको अवस्था अझै थाहा छैन

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै खसेको दुईवटा बस र ५७ जना यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । चितवन जिल्ला प्रशासनले दिएको पछिल्लो विवरणअनुसारै काठमाण्डौबाट गौरको लागि छुटेका बसमा ३८ जना र वीरगन्जदेखि काठमाण्डौको लागि छुटेका बसमा २७ गरी ६५ जना यात्रु थिए । तीनजना यात्रु पौडिएर बाँच्न सफल भए ।

अस्ति र हिजो भेटिएका पाँचवटा शव बसमा रहेका यात्रुको भएको पुष्टि भएको छ । सनाखत भएका पाँच शव आफन्तले बुझिसकेको चितवन प्रशासनले जनाएको छ । बाँकी ५७ यात्रुको अवस्था भने अझै थाहा हुन सकेको छैन ।

हिजो पूर्वी नवलपरासीको गण्डक नहरमा दुई र पश्चिम नवलपरासीको सुस्तामा एक शव फेला परेको छ । तर ती शवको सनाखत हुन सकेको छैन । हराएका यात्रु र बसको खोजी आज पनि भइरहेको चितवन प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयकाअनुसार धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको छ । खोजीका लागि विदेशी उपकरण प्रयोग भइरहेको छ । पानीभित्र खोज्न सकिने सोनार उपकरण, वाटर ड्रोन र पाइपलाइन इन्सपेक्सन लगायतका अत्याधुनिक उपकरण प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोनार उपकरणले पानीको गहिराइमा वस्तु पत्ता लगाउन सहयोग गर्छ भने वाटर ड्रोनको सहयोगले नदीभित्रका दृश्य हेर्न सकिन्छ । यी प्रविधि विश्वका अन्य देशमा निकै प्रभावकारी मानिन्छन् । यी उपकरण विदेशमा नबग्ने पानी अर्थात् समुद्रमा परीक्षण भएका हुन्छन्, तर नेपालमा बग्ने पानी अर्थात् नदी खोलामा प्रयोग गर्दा प्रभावकारी नभएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार श्रीलंका गएर तालिम पाएका दक्ष गोताखो पनि खोजी काममा खटिएका छन् । तर त्रिशूली नदीको तीव्र बेग र धमिलो पानीले खोजी कार्य अत्यन्त कठिन बनाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!