भैरहवा । छुरा प्रहारबाट हत्या गरिएका राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य बुटवल–७, निवासी ३६ वर्षीय युवा रवि थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ परेको छ ।
पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका–११ बस्ने ३० वर्षिय किशोर कुँवर र बुटवल–२ मैनाबगर बस्ने २५ वर्षिय पुस्मन कार्की रहेको रुपन्देही प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मनोहर प्रसाद भट्टका अनुसार २०८१ जेठ ३ गते बुटवल–९ कालिकानगरस्थित रेष्टुरेण्टमा किशोर र पुस्मनले रविलाई कुटपिट गरी घाइते बनाएका थिए ।
घाइते रविको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगंज काठमाडौंमा उपचारका क्रममा असार १८ गते मृत्यु भएको थियो । घटनामा संलग्न व्यक्तिहरु तत्काल फरार रहेको र उनीहरुलाई शुक्रबार पक्राउ गरी ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखी कर्तव्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको डीएसपी भट्टले जानकारी दिए ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, रुपन्देहीका अध्यक्ष विकास जंग बस्नेतका अनुसार संघका पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका रवि थापा उक्त रेष्टुरेण्टमा कार्यरत थिए । हत्यामा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै बिहीबार युवा संघले जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको थियो ।
