काठमाडौं । नारायणगढ-मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रुबसमा ६५ जना सवार रहेको खुलेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुईवटा बसमा ६५ यात्रु रहेको विवरण दिएका हुन्।
भरतपुर महानगरपालिका-२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको थियो। जसमा २४ जना यात्रु सवार थिए। त्यस्तै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेको पुष्टि भएको यादवले बताए । काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान छ । यद्यपि यात्रुहरुको एकिन विवरण भने थाहा हुन सकेको छैन ।अहिले प्रजिअ यादवसहित करिब ८० जना सुरक्षाकर्मीको टोली उद्धार र खोजीमा जुटेको छ।
काठमाडौंबाट रौतहटको गौर आइरहेको गणपती डिलक्स बसलाई चितवनको सिमलतालमा पहिरोले बगाउँदा तीन जना यात्रुले हामफालेर आफ्नो ज्यान जोगाउन सफल भएका छन् । रौतहटको देवाही गोनाहीका दुई जना र वृन्दावन नगरपालिकाको सिसवा धमौराका एक जना छन् । उनीहरुलाई बस खसेको स्थानबाट उद्धार गरेर अर्को बसमा चढाइ नारायणगढ पुर्याइएको छ ।
अर्को बस चढेर नारायणगढतर्फ जाँदै गर्दा सिसवाधमौराका एक यात्रुले घटनाबारे बाेलेका छन। ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनतिरको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् । अरु दुई जनाले पनि त्यसैगरी ज्यान जोगाएका छन् ।
ती यात्रुका अनुसार उनीसँगै क्याबिनमा चार जना पनि थिए । उनले आफूसँगैका यात्रु र आफ्ना झोलासहितका सामान बेपत्ता भएको बताएका छन् ।
नारायणगढ(मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् । साथै उनले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन समेत दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु।
बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु। साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र रातमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपील गर्दछु।’
