भैरहवा । जेठको २७ गते भैरहवास्थित बुद्धचोकमा संचालनमा रहेको भैरहवा क्याफेमा एक युवाहरुको जमातले अर्को एकजना युवामाथि जथाभावि कुटपिट गरी घाईते बनाए । उक्त घटनामा घाईते हुने युवा हुन् सिद्धार्थनगर निवासी आशिस पन्थ ।
सांझको समयमा खानपिन गर्न र रमाईलो गर्नका लागि क्याफेमा पुगेका युवाहरुले सानो विषयमा भएको विवादलाई निहु बनाएर उनीमाथि वियरको बोटल,मुक्का प्रहार गरेको र जथाभावी गालीगलौज गरेको भिडियो सामाजिक नेटवर्कमा भाईरल भयो ।
भिडियोमा क्याफेमा कार्यरत महिला कर्मचारीले ति युवाहरुलाई छुट्याउन खोज्दा उनीमाथि पटक पटक धकिलिएको देखिन्थ्यो । पीडित आषिस पन्थका अनुसार कुरा सामान्य थियो, उनी आफ्ना म्यानेजर सहित टेवलमा बसेर खानपिन गरिरहेका थिए, यतिकैमा संगम पुन सहितका पांच जना युवाहरु क्याफेमा प्रवेश गर्छन । ति मध्ये विमस क्षेत्री आशिसले चिनेका र केही समय स्कुलमा संगै पढेका साथी हुन्छन् । विसम भन्ने व्यक्ति आशिस भएको टवलमा जान्छन् र कुराकानी गर्छन् । यतिकैमा संगम पुनले निहु निकाल्छन् र आशिसमाथि एक्कासी मुक्का प्रहार गर्छन् । यसरी सुरु भएको विमति अन्तत पांचै जना युवाहरु संगम पुन, विमस क्षेत्री, रोशन क्षेत्री थापा,प्रसान्त अर्याल, विश्वास क्षेत्री ति आशिसमाथि सामुहिक रुपमा कुटपिटमा उत्रिन्छन् ।
केही समयपछि प्रहरी आउंछ र घाईतेलाई अस्पताल पुरयाउंछ । त्यतिन्जेल कुटपिट गर्ने युवाहरु त्यहांबाट फरार हुन्छन् , घटना यही थियो । पीडित आशिस पन्थले आफुमाथि अन्याय भएकोले न्याय पाउं भनि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मुद्धा दर्ता गर्न चाहन्छन् तर पीडक संगम पुनका बुबा कुलेन्द्र पुनले आफ्नो राजनीतिक पावर लगाएर कुनैपनि हालतमा मुद्धा दर्ता नगर्न र मिलेको खण्डमा क्षतिपुर्ति समेत दिने आश्वसन समेत दिन्छन् । तर पीडितका बुवा चुरामणि पन्तले आफ्नो छोराको जीवनको सुरक्षासंग जोडिएको सवाल भएकोले यस्ता घटनामा मेलमिलाप नहुने भन्दै कुटपिटमा सम्लग्नमाथि कानुनी कारवारी हुनुपर्ने अडान कायम राखी एकहप्ता पछि भएपनि उनीहरु विरुद्ध ज्यानमार्ने उद्योगमा मुद्धा दर्ता गराएरै छाडे ।
मुद्धा दर्ता भएको दुईहप्ता वितिसक्दा पनि जाहेरी दिएका चारै जना पक्राउ पर्न सकेका छैनन् सिसिटिभिको फुटेजमा देखिएको भन्दै प्रहरीले अर्को एकजना विश्वास क्षेत्री भन्ने व्यक्ति पक्राउ गरेको छ । अन्य चार जनालाई खोजी कार्य जारी राखिएकोले छिट्टै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रंजित सिंह राठौरले बताए । पीडितका अनुसार ती युवाहरुलाई भैरहवाकै एक होटलमा धेरै दिनसम्म लुकाई राखेर पछि काठमाडौं भगाईएको पीडितको दावी छ ।
प्रहरीले राजनीतिक दवावमा परेर उनीहरुलाई पक्राउ गर्ने चासो दिएको छैन् आसिसका बुवा चुरामणि पन्थले भने । यो घटना सेलाउन नपाउदै फेरी असार १३ गते सांझ भैरहवाको लुम्बिनीरोड स्थित होटल सनस्टारमा होटलका म्यानेजरमाथि एक व्यक्तिले अपशब्द बोल्नुका साथै मुक्का प्रहार गरेका छन् । कृष्ण मल्ल नाम गरेका ति व्यक्ति मदिराले मातेको आवाजमा सुन्नै नसकिने घिन लाग्दा शब्दहरु बोलेको भिडियो फुटेज हाम्रो टिमलाई प्राप्त भएको छ । उनले बोलेका छन् “ तैले के गर्छस् नेतालाई मैले चलाउंछु, यहांका पुलिसलाई मैले पालेको छु । ” कृष्ण मल्ल नेकपा एमाले रुपन्देहीको जिल्ला सदस्य हुन् ।
घटना लगतै होटल परिसरमा पुगेको प्रहरीको टोलीसंग समेत ति व्यक्तिले वादविवाद गरिरहेको सुनिन्छ । बर्दीको आडमा मलाई थर्काउने भन्दै उनै व्यक्तिले प्रहरीलाई समेत धम्काईरहेको अडियो समेत हामीलाई प्राप्त भएकोछ । तर प्रहरी भन्छ उनी फरार छन् । आफ्ना स्टाफमाथि कुटपित गरेको भन्दै कृष्ण मल्लको विरुद्धमा होटलका संचालक राजेश महोत्रा उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेपनि यो समाचार तयार गर्दासम्म उजुरी दर्ता भइनसकेको तर प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोहर भट्टले जानकारी दिए ।
पर्यटकीय नगरीको रुपमा रहेको सिद्धार्थनगरभित्र रात्रीकालिन व्यवसायलाई संचालन गरिनु पर्ने आवाज उठेपछि यसमा प्रहरी प्रशासन लचिलो बनेको थियो । तर यस्ता घटनाहरु क्रमबद्ध घट्न थालेपछि सुरक्षा चुनौति भने थपिएको छ । रात्रीकालिन व्यवसायलाई सुरक्षित वनाउनका लागि प्रहरीले आगामी नयां रणनीति बनाउनु पर्ने आवश्यकता देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक राठौरले बताए ।
प्रत्येक होटलमा प्रहरी खटाउन सम्भव नहुंनेहुदा होटल संचालकहरुले आफ्नो सुरक्षाका लागि आफै पनि सुरक्षाको व्यवस्था मिलाउनु पर्ने एसपि राठौरको भनाई छ । उनी भन्छन् “ बाउन्सर नियुक्ति गर्ने र अवान्छित गतिविधि गर्नेलाई समातेर प्रहरीलाई बुझाउने गर्न सकेमात्र यस्ता घटनामा कमी आउंछन् ।” घटनाका दोषीलाई कानुनी दायरामा ल्याएर कारवाही गरिने उनको भनाई छ । कोभिडको मारपछि विस्तारै राहत महसुस गरिरहेका होटल व्यवसायीहरु जिम्म्ेवार व्यतिmहरुबाटै यस्ता किसिमका घटना हुन थालेपछि चिन्तित भएका छन् ।
