भैरहवा । इस्लाम धर्माबलम्बीहरुको दोस्रो ठुलो मुख्य पर्व इद– उल– अजहा (बकरा ईद ) आज सोमबारबाट मनाइँदै छ । ३ दिन सम्म मनाइने ‘ईद ऊल जोहा’ ’ईल उद अधा’, लगायतका धेरै नामले परिचत यो पर्व नेपाल सहित विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । इस्लामिक क्यालेन्डर हिजरी सम्बत को १२ औ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ ।
रुपन्देहीको भैरहवामा करिब ५ दशकदेखि सिद्धार्थनगर ८ बसडिलियामा समूहिक इदुलअजहाको नमाज पढिदै छ विहान ७ बजे यस क्षेत्रका मुस्लिम समुदायहरु एकठाएमा भेला भई यो नमाज पढ्न गर्छन । यस्तै भैरहवाकै सिद्धार्थनगर ६ कचरिहवा सहित रुपन्देहीका दर्जन बढि इदगाहमा समूहिक नमाज पढिन्छ । इदलुफित्र पर्वको ठिक ७० दिन पछि शुरु हुने यो पर्वमा तीन दिनसम्म मनाइन्छ ।
बकराईदको पहिलो दिन, बिहानै नुहाइधुवाइ गरी सुकिला, सफा कपडाका साथमा वासनादार अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुल्ला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढेर वकरइद पर्वको सुरुवात हुन्छ । नमाज पढ्न जुन बाटोबाट इदगाह आइएको हो त्यसैबाट नगई अर्को बाटोबाट घरतर्फ फर्किदा राम्रो हुने धार्मिक विश्वास छ । हजरत महम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीबहरु पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरुले आफ्नो संचित धनको २।५ प्रतिशत हिस्सा गरिबहरुलाई दान गर्नु पर्ने नियम छ । अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरुलाई कुरवान गर्ने चलन पनि छ ।
ईस्लाम धर्मको महान पर्व (ईदुल फित्र) ईद र (ईदुलअजहा) बकरईदको दिन मुस्लिम समुदाय एकत्रित इदगाहमा नमाज पढ्ने गर्छन । बकरईदमा ईस्लाम धर्मावलम्बीहरुका लागि हज र कुर्वानी अनिबार्य भएको मुस्लिम समुदायले ईगदाहमा नमाज पढेपछि दक्ष अनुसारको पशु वलि कुर्वानी दिने प्रचलन रहेको छ ।
पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने यो पर्व अल्लाहको आदेशमा इब्राहिमले आफ्ना प्यारो छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा मनाईन्छ । अल्लाहको आदेशमा इब्राहिमलाई आफ्नो नजिकको प्यारो के हो त्यसको कुर्वानी (बलिदान) दिनु भन्ने थियो, जस अनुसार छोरा इस्माइललाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँले बलिदान दिने क्रममा इब्राहिमको हात बाट अक्स्मात छोराको ठाँउमा दुम्बा(मरुभुमिमा पाइने भेडा) राखी बलिदान गर्ने भनी आदेश दिए, बलिदान दिदा इबा्रहिमको नजरमा उन्को छोरा इस्माइलको कुर्बानी भयो भन्ने थियो तर आखाँ खोल्दा छोरा नभएर एउटा दुम्बा लाई कुर्बान गरेका थिए, सोही घटनाको सम्झनामा यो पर्व मनाईन्छ ।
बकरइदमा नमाजपछि अ—आफनो घर गई क्षमता र हैसियत हुनेहरुले कुर्बानी (बलि दिने) गरिन्छ । त्यस्तो कुर्बानी चौपायामा मात्रै गर्नुपर्ने हुन्छ । खसी, राँगा, भेंडा, उँट, दुम्बा (खाडीमा पाइने जनावर) लगायतका जनावरलाई कुर्बानी दिन योग्य मानिन्छ । ठूला जनावरहरू राँगा, ऊँट लगायतमा ३, ५ र ७ जनासम्मले समूहमा वा एकै व्यक्तिको नाममा कुर्बानी दिने गरिन्छ भने् खसी, बाख्रा, दुम्बामा एकजनाको नाममा मात्रै लगाउने प्रवधान छ । त्यस्तो जनावर बिरामी, खुट्टा खोच्याउने, कान काटिएको, सिङ भाँचिएको हुनु हँुदैन ।
इस्लामिक धर्माबलम्बीका अनुसार, कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ । एक भाग आफ्ना घर परिवारका लाीग, अर्को आफन्त तथा इष्टमित्रका लागि र तेस्रो भाग गरिब एंव असक्षम मानिस लागि छुट्याउनु पर्ने हुन्छ । यो पर्वमा कोही पनि मासु खानबाट बन्चित नहोस भन्ने मान्यता रहेको छ ।
कुर्बानीको मासु तराजुमा तौलन् र बिक्री गर्न मिल्दैन । कुर्बानी भएको जनावरको छाला मदरसालाई दिनुपर्ने धार्मिक नियम छ । यो नियम सबै मुस्लिमले पालना गर्नुपर्ने हुन्छ ।
यस्तै दोश्रो र तेश्रो दिन पनि कुरवानी दिन सकिन्छ । यो बकरईदसंग हज (तीर्थाटन) समेत जोडिएको हुन्छ, जसका लागि हजयात्रीहरु साउदी अरेवियाको मक्का पुगिसकेका छन , हजमा गएका सबै बकरइदको नमाज साउदीमा नै पढ्ने गर्छन ।
कुर्बानीका लागि मुसलमानहरुले आ—आफ्ना हैसियत अनुसारका जनावरहरु खरिद गरिसकेका छन् । अहिले कुर्बानीका लागि खरिद गरिने जनावरहरुको बिक्री र मूल्य दुवै आकासिएको छ । मोलमोलाई गर्न नहुने कुर्बानीका लागि मन पर्ने जनावरलाई जति पनि मूल्य तिर्न तयार हुन्छन ।
हरेक मुस्लिमहरूकालागि जीवनमा एकफेर साउदी अरबको मक्कामा हज तिर्थयात्रा गर्न जरुरी मानिन्छ जसकालागि एउटा निश्चित समय तय गरीएको हुन्छ । आजबाट मक्कामा जाने हज तिर्थयात्राको यस वर्षकालागि औपचारीक समापन भएको दिन पनि हो । पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । यो महिना पछि इस्लामिक नयाँ वर्ष मोहर्रम शुरु हुन्छ । यस्तै पर्वको अवसरमा प्रदेश प्रमुख, मुख्यमन्त्री तथा देशका उच्च पदस्त व्यक्तिहरुले शुभकामना सन्देश दिएका छन ।
