विद्युत् प्राधिकरणले सञ्चालनमा ल्यायो अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर

नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर सञ्चालनमा ल्याएको छ । भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौंको स्युचाटारमा डाटा सेन्टर सञ्चालनमा ल्याएको हो । ‘प्रि–फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको भुइँतलामा काठमाडौं उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणाली अनुगमन, नियमन तथा नियन्त्रण र सुरक्षा सञ्चालन कक्ष छन् । पहिलो तलामा कार्यालय तथा नेटवर्क सञ्चालन कक्ष र सबैभन्दा माथिल्लो तलामा डाटा सेन्टर छन् ।

डाटा सेन्टरका लागि तोकिएको टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरिएको प्राधिकरणले जनाएको छ । आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यलाई पूरा गर्न डिजिटल एनइए कार्यक्रमअन्तर्गत निर्माण गरिएको यो मोडेलको डाटा सेन्टर नेपालमै पहिलो हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डाटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डाटा भण्डारणका लागि आफ्नो छुट्टै प्राइभेट क्लाउड बनाउन लागिरहेको बताए । उनले डाटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित नयाँ बुटवल सबस्टेसनमा विपत् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

उक्त विपत् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरको रूपमा सञ्चालन गरिनेछ । सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याक रहेका छन् । जसमा ३६ वटा सर्भर र चारवटा नेटवर्क र्‍याक छन् । टियर ३ मापदण्डका लागि तोएिका सर्त पूरा गर्न आवश्यक व्याकपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानीलगायतको व्यवस्था गरिएको छ । अविच्छिन्न विद्युत्् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको छ ।

स्थानीय तथा देशको विद्युत् प्रणालीमै समस्या आई विद्युत्् आपूर्ति बन्द भएमा डाटा सेन्टरलाई सुरक्षित रूपमा सञ्चालन गर्न १ मेगावाट क्षमताका दुईवटा जेनेरेटर तयारी हालतमा राखिएका छन् । तीन सय केभिए क्षमताका दुई थान मोड्युलर युपिएस जडान गरिएको छ । युपिएसको विश्वसनीयतालाई ध्यान दिएर लिथियम आयन ब्याट्री प्रयोग गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!