भैरहवा । तराइका जिल्ला सहित भैरहवामा अत्याधिक गर्मी बढेको छ। तापक्रम बढ्दै जान थालेपछि जनजीवन थप कष्टकर बन्दै गएको हो । दिउँसो सडकमा मानिसको हिंडडुल पातलिएको छ। अस्पतालमा विरामीको चाप उस्तै बढेको छ। जनजीवन अस्तव्यस्त बनेको छ। अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाजका प्रभावित भएको छ भने सर्वसाधारणलाई घरबाहिर निस्किन समेत समस्या भएकोले दैनिक कार्यमा समेत प्रभावित बनेको छ । कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन देशका अरु ठाउँमा पुग्न अझै केही दिन लाग्ने भएकाले गर्मी कायमै रहने मौसमविदले बताएका छन् । काठमाण्डौसहित देशका धेरै ठाउँमा केही दिनयता गर्मी ह्वात्तै बढेको छ । मध्य र पश्चिम तराईमा अझ धेरै गर्मी छ । ती ठाउँमा तातो हावाको लहर अर्थात लू चलेकाले जनजीवन कष्टकर बनेको छ । अत्याधिक गर्मी विद्यालय समेत बन्द गरिएकाे छ ।
पश्चिम तराईमा सबैजसो ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धनगढीको तापक्रम ४३ दशमलव ९ डिग्री र नेपालगञ्जको तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको छ । काठमाण्डौको तापक्रम ३४ दशमलव ३ डिग्री सेल्सियस पुगेको छ ।
मनसुनी प्रणाली प्रवेश गरिसकेको भए पनि देशका धेरै ठाउँमा अझै केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । मनसुन काठमाण्डौ उपत्यका हुँदै पश्चिम नेपालसम्म नफैलिएसम्म चर्को गर्मी नहट्ने मौसमविद् गोविन्द झाले बताए ।
मनसुनी प्रणाली अझै पनि कोशी प्रदेशबाट अघि बढ्न सकेको छैन । अहिले मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु नै बलियो छ । पश्चिमी वायु बलियो भएकैले भारततर्फबाट तातो हावा आइरहेको मौसमविद गोविन्द झाले बताए ।
एक साता देखि ४० डिग्रीकै सरदरमा तापक्रम रहेकोले स्थानीयको जनजीवन नै अस्तव्यस्त बनेकोे छ । बिहान सबेरैबाट शुरु हुने गर्मीले गर्दा खास गरी दैनिक ज्याला मजदुरी र खेती किसानी गर्नेहरु मारमा परेका छन् । गर्मीका कारण लु लाग्ने र बाटोमा मानिस बेहोस हुने जस्ता समस्यासमेत उत्पन्न भएको छ । अति आवश्यक काम बाहेकका बेलामा भने मानिसहरु घर बाहिर निस्कन छाडकोले संख्या पातलिएको छ ।
गर्मीको राहतका लागि विधुत एउटा सहारा भएपनि बेलाबेलामा जाने गरेको छ । भएको विधुतमा पनि लो बोल्टेज र ट्रिपिङको समस्या छ । गर्मी बढेसँगै अस्पतालमा विरामीहरुको संख्या पनि बढेको छ । अस्पतालका अनुसार अहिले बढेको गर्मीका कारण विरामीको संख्यासरदर भन्दा दोब्बर भएको छ । भाइरल ज्वरो, झाडापखाला, रुघाखोकी, पिसाब संक्रमण, जलवियोजन लगायतका बिरामीको संख्या बढ्दै गएको छ । बढि घाममा काम गर्दा, हिड्दा, पर्याप्त पानी नखादा मानिसहरुमा हिट स्ट्रक जस्तथा समस्या आउने गरेको छ ।
भैरहवाको भीम अस्पताल, मेडिकल कलेज, सिटी हस्पिटल र अन्य निजी अस्पतालमा पनि विरामीको चाप बढेकोले चिकित्सकलाई भ्याइ नभ्याइ छ । भीम अस्पतालका आकस्मिक कक्ष केही दिनयता बढेको गर्मीका कारण विरामीको संख्या पनि बढ्दै गएको छ ।’ डाक्टरहरुले तातो हावाको लहरबाट जोगिन गर्मीको समयमा घरभित्र र चिसो ठाउँमा बस्न, घाममा सकेसम्म नजान, बाहिर निस्कँदा टोपी लगाउन, नियमित रूपमा पानी तथा तरल पदार्थ पिउन र स्वास्थ्यमा समस्या देखिएमा डाक्टरहरूसँग परामर्श गर्न सुझाव दिएका छन् ।
