भेरहवा । पत्रकार दिनेश पाण्डे वातावरण उत्कृष्ट लेखन पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत भएका छन् । झण्डै दुई दशकदेखि वातावरण बचाउ आन्दोलनले विश्व वातावरण दिवसको अवसरमा वितरण गर्दै आएको उक्त पुरस्कारबाट यसवर्ष पाण्डे पुरस्कृत भएका हुन्।
२०५२ सालदेखि विभिन्न संचारमाध्यममा काम गर्दै आउनुभएका पाण्डे नेपालको पहिलो सामुदायिक टेलिभिजनको रुपमा रहेको लुम्विनी टेलिभिजनको महासचिव समेत हुन्। वातावरण बचाउ आन्दोलनका अगुवा एवं समाजसेवी भरत पोखरेल संयोजक तथा रुद्र ज्ञवाली, उदय बहादुर पौडेल, कमल रायमाझी र श्री रायमाझी सदस्य रहेको मूल्यांकन समितिले गरेको मूल्यांकनको आधारमा पत्रकार पाण्डेलाई पुरस्कृत गरिएको हो।
बुधवार भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खांन र वातावरण बचाउ आन्दोलनका संयोजक नारायण प्रसाद सापकोटाले २५ हजार नगद सहित पुरस्कार प्रदान गरेका थिए।
पुरस्कार बितरण समारोहमा बोल्दै नगरप्रमुख खानले वनजंगलको फंडानी गर्ने र विरुवा नरोप्ने परिपाटीका कारण पानीका श्रँेतहरु नासिदै गएको बताए।
उनले अहिले वातावरण जोगाउन सकिएन भने आगामी पुस्ताको भविश्य नै खतरामा रहने बताउदै घर घरबाट हरियाली प्रर्वद्धनमा सहकार्यको आवश्यकता रहेको बताए।
वातावरण बचाउ आन्दोलनका संयोजक नारायण प्रसाद सापकोटाले हाम्रो भूमि हाम्रो भविश्य भन्ने विश्व वातावरण दिवसको यसवर्षको नारामा भनिएजस्तै भूमि जोगाउन नसकिए भविश्य पनि जोगिन नसक्ने बताए। उनले खोलानालाहरुको उत्खनन्, चुरेको दोहोन तथा वनजंगलको फंडानीले जमिन मूनिको पानीको श्रोत समेत सुक्दै गएको बताए।
सापकोटाले वातावरण बचाउ आन्दोलनले स्थापनाकालमा गरेको निरन्तरको खबरदारी र दवावका कारण डण्डा नदीमा रहेका दुई दर्जन बढि क्रसर उद्योगहरु हटाउन बाध्य भएको उल्लेख गर्दै अझैपनि नदिनाला, सार्वजनिक स्थलहरुको अतिक्रमण र दुरुपयोग गर्ने क्रम नहटेको गुनासो गरे।
कार्यक्रममा वातावरण बचाउ आन्दोलनका पुर्व अध्यक्ष रामप्रसाद बस्याल, सदस्य उदय बहादुर पौडेल, पुरस्कार मूल्यांकन समितिका सदस्य रुद्र ज्ञवाली, पुरस्कृत पत्रकार दिनेश पाण्डे, यादव सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
