भैरहवा । सोमबार विहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा एक्कासि आगोको मुस्लो देखियो, अवतरण गर्दै गरेको विमानमा दनदनी आगोको मुस्लो निस्कियो,हेर्दाहेर्दै केहीको मृत्यु भएको र अन्य यात्रु घाईते भई छटपटिएका देखिन्थे । दुर्घटना लगतै वारुणयन्त्र आगो निभाउन दौडे, उद्धार टोली घाईतेको उद्वारमा लाग्यो । दृष्यमा वास्तवमै केही अप्रिय घटना भएको जस्तो देखिएपनि त्यो घटना वास्तिविक भने थिएन । विमानस्थलमा पुर्ण आपतकालिन उद्वार अभ्यास गरिएको हो ।
विमानस्थलमा आईपर्ने आपतकालिन अवस्था र त्यसबाट हुनसक्ने मानविय तथा भौतिक क्षति न्युनिकरणका लागि कसरी सरोकारवालाहरुको भुमिका रहन्छ भन्ने पुर्ण अभ्यासका लागि सो कार्यक्रम आयोजना गरिएको हो ।
अन्तराष्ट्रिय नागरिक उड्ड्यन संगठन नेपाल नागरिक उड्यान प्राधिकरणको सिभिल एभिएशन रिक्वाएरमेन्ट र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल इमरजेन्सी प्लानमा भएको व्यवस्था अनुसार प्रत्येक दुई वर्षमा फुल स्केट इमरजेन्सी एक्सरसाईज कार्यक्रम अन्तरर्गत विपत पुर्ण तयारी अभ्यास गरिएको एयरपोर्ट अप्रेसन प्रमुख तथा कार्यदल संयोजक छविलाल खनालले जानकारी दिए ।
पुर्ण अभ्यासका लागि क्राइसिस क्षेत्रमा विमान अवतरण भएको कल्पना गरेर त्यहाँ रहेको पुरानो विमान नजिकै पानीमा आगो लगाइएको थियो । आगो लागेपछि विमानस्थलका आपतकालीन उद्धार बाहनले आयो निभाएका थिए । उक्त कार्यमा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीले सघाएका थिए । विमानको आगो निभाए पछि यात्रुको उद्धार अभ्यास गरिएको थियो ।
विमानबाट निकालिएका यात्रुको घटनास्थलमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीले प्राथमिक उपचार गर्नुका साथै घाइतेको अवस्था अनुसार वर्गिकरण गरेका थिए । घटनास्थलमा प्राथमिक उपचार गरेपछि घाइतेलाई एम्बुलेन्समा अस्पताल पठाइएको अभ्यास गरिएको थियो । उद्धार कार्यको विमास्थलका महाप्रबन्धकसँगै जिल्लाका सुरक्षा निकायका प्रमुखले समन्वय गरेका थिए ।
पुर्व अभ्यासमा आपतकालिन अवस्थामा उद्धारमा खटिने विमानस्थलको आपतकालिन उद्धार टोली, सुरक्षा युनिट, एयरपोर्ट व्यवस्थापन लगायत रुपन्देही जिल्लामा रहेका आपतकालिन समयमा भागलिने संस्थाहरु सिटीफायर, विभिन्न अस्पतालहरु,नेपाल रेडक्रस सोसाईटी,आपतकालिन स्वास्थ्य सेवा, तिनवटै सुरक्षा युनिटले आआफ्नो भुमिका प्रस्तुत गरेका थिए ।
विमानस्थलको धावन मार्गको दक्षिणतर्फ रहेको क्राइसिस म्यानेजमेन्ट क्षेत्रमा बिहान उडान भरिरहेको अवस्थामा चरा ठोक्किएर अनियन्त्रित बनेपछि चालकले आपतकालीन अवस्था घोषणा गरेरअवतरण गरेपछि विमानमा आगलागी भएको अवस्थाको कल्पनामा यस्तो पूर्ण आपतकालीन अभ्यास गरिएको थियो ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले तीनवटा अलर्ट अवस्था सिर्जना गरेर यस्तो अभ्यास गरिएको बताए । उनका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल’मा यस्तो अभ्यास गर्नुपर्छ । यसमा विमानस्थल र स्थानीय सम्पूर्ण सरोकारवालाको सहभागिता रहन्छ ।
