भैरहवा । नेपाल आयल निगमको पेट्रोलियम भण्डारणका लागि रुपन्देहीमा संरचना निर्माणको थालनी भएको छ । रुपन्देहीको रोहिणी गाँउपालिका ३ र ओमसतया गाँउपालिका ५ मा पर्ने रोहिणी खोलाको किनारमा रहेको निगमको जग्गा बुधबारबाट भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माणको काम सुरु गरिएको हो ।
पेट्रोलियम पदार्थ भण्डारणका लागि सूरुवाती चरणको काम माटो पुर्ने र रिटेनिङ्ग वालको कामको सुरुवात भएको छ । ३ महिनामा यो काम सम्पन्न गरि २०८१ को मंसिर सम्ममा परियोजना अनुसारको शिलान्यास गरिने नेपाल आयल निगम लिमिटेडका उपनिर्देशक तथा पेट्रोलियम भण्डारण गृह निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप कुमार यादवले भने । इञ्जिनियर यादवका अनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा २१ सय किलो लिटरका डिजेलको ३ वटा, १६ सय किलोलिटरको पेट्रोलको २ वटा र ७० किलोलिटरका ३ वटा मटितेलको भण्डार सहितको संरचना बनाउने बताए । जग्गा सम्बन्धि कुनै पनि विवाद छैन सबै कुराको टुङ्गो भएपछि नै परियोजना अघि बढाउन बजेट पारित भएको छ । उनले स्थानीयको सल्लाहक र सहयोग विना परियोजना अगाडि नबढ्ने प्रतिबद्धता जनाए ।
रुपन्देहीको तिलोत्तमा–७ भलबारीमा रहेको प्रादेशिक डिपोको भण्डारण क्षमता कम भएको तथा बस्ती नजिक रहेकाले जग्गा किनेको ७ वर्ष पछि यस्को थालनी भएको छ । भण्डारण गृहका लागि नै २०७२ सालमा निगमले यो जग्गा करिब ३२ करोडमा किनेको थियो ।
नेपाल आयल निगमले भैरहवा–परासी सडक खण्डमा पर्ने यो ठाँउ बस्तीबाट टाढा भएकोले पनि सुरक्षाका हिसाबले निगमले यसलाई प्राथमिकता दिदै परियोजना अघि सारेको छ । निगमले करिब १४ बिघा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न थालेको हो यसले यस क्षेत्रको मागलाई केही दिन सम्म बढाउन सकिने छ ।
आगामी असारसम्म तटबन्ध लगाउने र जमिन पुर्ने काम सम्पन्न गरिने जानकारी दिंदै इन्जिनियर यादवले दुई वर्षभित्र निर्माण सम्पन्न गरी हालको भलबारी डिपो यहा सर्ने बताए । यादवले भने, ‘आगामी मंसिरमा भण्डारण परियोजना निर्माणको शिलान्यास गर्ने र २०८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
निगमका प्रबन्धक रामहरि निरौलाले भण्डारण गृहका लागि थप ७ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता रहेको बताए । भविष्यमा भारतीय आयल कर्पोरेसनसँगको सहकार्यमा भण्डारण गृहसँगै प्राकृतिक ग्यासबाट रासायिनक मल उत्पादन कारखाना पनि स्थापना गर्ने लक्ष्य रहेको निरौलाले बताए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले संयुक्त रुपमा भूमि सम्याउने तथा रिटेनिङ्ग वाल निर्माण कार्यको शुभारम्भ गरेका छन । कार्यक्रममा बोल्दै द्वयले परियोजानको थालनीले हामी धेरै हर्षित छौ यसले यहाको विकासमा फड्को मार्ने भएपनि स्थानीयलाई दक्षता अनुसारको रोजगारीको अवसर यस परियोजनाले प्राथमिकतामा राख्नु पर्ने बताए । स्थानीय तहबाट भरपुर सहयोग हुन्छ, कसैलाई मर्का पर्ने खालको काम नगरी सहयोगको भावनाले यो परियोजना छिटो संचालनमा ल्याउन उनले द्वयले आग्रह गरे । स्थानीयलाई असर नपर्ने गरि संरचना बनाउन उनीहरुले जोड दिनु पर्ने बताए ।
