भैरहवा । नेपाल भन्सार एजेण्ट संघ रुपन्देहीको ११ औ अधिवेशनबाट अध्यक्षमा पुनः मधु प्रसाद पन्थी सर्वसममत रुपमा चयन भएका छन ।
सोमबार सम्पन्न २५ औँ साधारण सभा तथा अधिवेशनले ३ वर्षे कार्यकालका लागि पन्थी सहित सबै पदमा सर्बसम्मत निर्वाचित भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा हिरालाल धोबी । प्रथम उपाध्यक्षमा ओम प्रकाश गिरी, द्वितीय उपाध्यक्षमा सत्य नरायण चौधरी, तृतीय उपाध्यषमा बाँके प्रसाद भेडीहार, महासचिवमा विष्णु प्रसाद भुसाल, कोषाध्यक्षमा प्रकाश पौडेल र सचिवमा गोविन्द रोग्मी निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा जिवलाल भण्डारी, विपिन पराजुली, रुक्माङगत खनाल, सिता सापकोटा, अशोक शर्मा, हिमा कुमारी शर्मा, सुमन पन्थ र रामप्रसाद आचार्य निर्वाचित भएका छन ।
अधिवेशन पूर्व उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले भन्सार एजेन्ट अझ जिम्मेवार र पारदर्शी भई भन्सारका कर्मचारीहरुसँग पारदर्शी भएर नमुना बन्न आग्रह गरे । आर्थिक सुशासन कायम रहन नसक्दा नेपालको अवस्था बिग्रिन थालेको जनाउँदै उनले आर्थिक शुसासन राजनीति, कर्मचारी लगायत् हरेक क्षेत्रका पेशागत क्षेत्रमा कायम रहन नसकेको उनले भने । नेपालको आर्थिक समुन्नतीका लागि चुरे पहाडको बातावरण र संरचना नबिग्रिने गरि ढुंगागिटी र जंगल बिनास नहुने गरि काठको निकासी गरिनु पर्ने बताउदै उनले ऐजेन्ट व्यवसायीमा देखिने गरेका बिकृति र बिसंगती अन्त्यको सुरुवात यहीबाट गर्नुपर्ने बताए ।
भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले भन्सार प्रशासन सम्बन्धि गरिने अधिकांश कार्यशैली प्रति आम मानिसको धारणा सकारात्मक नरहेकाले यस खालको सोंंचाइमा परिवर्तन ल्याउन भन्सार एजेन्ट व्यवसायीको पनि महत्वपूर्ण भूमिका हुने बताए । ‘भन्सार प्रशासनको कार्यलाई विवादरहित बनाउनका लागि सहकार्य गर्न हामी तयार छौं’, गौतमले भने, ‘भन्सार प्रशासनमा सुधार ल्याउनका लागि अपनाउनु पर्ने नीतिका लागि नेपाल भन्सार एजेन्ट महासंघले अध्ययन गरेर निचोड निकालोस् ।’
सिद्धार्थनगरका नगर प्रमुख इश्तियाक अहमद खानले देशका लागि अप्ठेरो र असहज परिस्थिति आउँदा भैरहवा भन्सार नाका लाइफलाइनको रुपमा प्रयोग हुने गरेको बताए । उनले, जडिबुटी फलफूल र प्राकृतिक श्रोत साधनको उचित ढंगबाट निकासी गरेर देशले आर्थिक लाभ लिनसक्ने बताए ।
नेपाल भन्सार एजेन्ट महासंघका केन्द्रिय अध्यक्ष भरतराज घिमिरेले भारतीय बिचौलियाले नेपाली भन्सार एजेन्टबाट काम गरेवापत सम्बन्धित एजेन्टलाई पैसा दिने र त्यस्ता नेपाली एजेन्ट बसीबसी आफ्नो हस्ताक्षर गरे वापत पैसा आउने स्वार्थले गर्दा नेपालको भन्सार प्रशासनिक कार्यमा भारतीय बिचौलिया हावी हँुदै जान थालेका बताए ।
भन्सार प्रशासन र उद्यमी व्यवसायीबीच पुलको रुपमा भूमिका निभाउँदै आएका भन्सार एजेन्ट अझ मर्यादित र जिम्मेवार बन्दै पूर्ण रुपमा पारदर्शिता अपनाउनु पर्ने बताए । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगर, रुपन्देहीले विभिन्न व्यक्तिकासाथमा भैरहवा क्षेत्रमा कार्यरत पत्रकार शशि पन्थी र भारत–नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्तालाई सम्मान गरेको छ ।
