चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिकबाट ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँचजनाको ज्यान गएको छ । ट्राफिक प्रहरीका अनुसार मुग्लिन बजारबाट एक किलोमिटर नजिकै पर्ने सडकबाट ट्याक्सी त्रिशूली नदीमा खसेको र ट्याक्सीमा रहेका ५ जनाको शव फेला परेको छ ।
आज बिहान सवा ७ बजेतिर बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा दुईं पुरुष, दुईं महिला र एक बालिकाको शव फेला परेको ट्राफिक प्रहरीले जनाएको छ । ट्याक्सी काठमाण्डौबाट गोरखा जाँदै गरेको खुलेको छ ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए।
मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्।
सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए। पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ।
