तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदैछ । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ । होलीमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
सद्भावको पर्व होली आज (सोमबार) तराई–मधेश क्षेत्रमा मनाइँदैछ । नेपालको पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा यो पर्व मनाउने गरिएको छ । आफन्त, साथीभाइ मिलेर रंग, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो ।
होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ । प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हिजोदेखि भोलिसम्मका लागि देशभर झण्डै ३० हजार प्रहरी जनशक्ति होलीकै सुरक्षाको लागि परिचालन गरिएको जानकारी दिनुभयो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । फागु पूर्णिमामा एकाआपसमा रंग, अबिर दलेर रमाइलो मात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । तराई–मधेशमा क्षेत्रमा होलीमा गाइने जोगिरा गीत गाउने चलन छ । त्यस्तै आफन्तहरू मिलेर रंगहरु दलेर एकआपसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ ।
सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर प्रहरी परिचालन भएका छन्, । विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ । होली पर्व सौहाद्र्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ ।
प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ । होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो–हल्ला गर्न, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने प्रवक्ता ढकालले बताउनुभयो ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको मानिन्छ । होली पर्वले समाजमा असमानता र विभेद मेटाउन साँस्कृतिक भूमिका खेलेको संस्कृतिविद्हरुको भनाइ छ ।
काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा भने हिजो होली पर्व मनाइएको छ ।
