भैरहवा । भवन संहिता तथा मापदण्ड अनुसारको संरचना तथा पूर्वाधार निर्माण गरे क्षतिबाट बच्न सकिने एक कार्यक्रममा बक्ताहरुले जोड दिएका छन । २६ औं भुकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला विपद व्यवस्थापन समिति रुपन्देहीको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरुले भुकम्पले ज्यान नजाने भएपनि मापदण्ड विपरित बनेका संरचनाले धन जनको क्षति हुुने गरेको बताए ।
भुकम्पको कारण जोखिम तथा कमजोर संरचना, स्रोतको अभाव, न्यून चेतना, समन्वयको कमि लगायतको कारणले भुकम्पमा क्षति हुने गरेको बताए । मानवीय दुशचक्रको परिणमले विपद आउने गर्छ , विपद रोक्न सकिदैन तर विपदबाट हुने क्षति रोक्न भने सकिने सहभागीहरुले औल्याए ।
कार्यक्रममा संघीय आयोजना कार्यान्वयन इकाइ भैरहवाका इन्जिनियर निरज केसरीले संरचना तथा पूर्वाधार बनाउदा कार्यान्वयन गर्नुपर्ने मापदण्डको प्राविधिक विषयबारे तथा जिल्ला विपद व्यवस्थापन समिति रुपन्देहीका संयोजक प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद, विपदको क्षेत्र, यसका पात्र समन्वयकारीको भूमिका लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रजिअ अर्यालका अनुसार भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालको अध्ययनले नेपालमा बनेका घर मध्ये ७५ देखि ८० प्रतिशत ठेकेदारको डिजाइन अनुसार बन्ने गरेको छ भने १५ देखि २० प्रतिशत घर मात्रै इन्जिनियरको समन्वयमा बन्ने गरेको छ । भुकम्पबाट भएको क्षतिको ८० प्रतिशत नोक्सानीको कारण पनि घर नै रहेको छ । भुकम्पमा परि ज्यान गुमाउने मध्ये ११ प्रतिशतले आकस्मिक उपचार नपाएकै कारण रहेको अध्ययनले देखाएको छ ।
विपदबाट हुने मानवीय क्षतिको देशगत अध्ययनले नेपालमा प्रति १० लाखमा २५ जनाको ज्यान जाने गरेको तथ्याङक रहेको यो संख्या भारतमा ५, चीनमा २ र जापानमा १ भन्दा पनि कम रहेको छ । नेपालमा भुकम्प प्रतिरोधी घरहरु निर्माण नभएकै कारण अधिकांस मानवीय क्षति हुने गरेको छ ।
स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौ।, भुकम्प थेग्ने संरचना बनाऔं भन्ने नाराका साथ यस वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो । माघ २ गते दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सो भूकम्पले जनधनको ठूलो क्षति पु¥याएको थियो । भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको हो । भूकम्पले क्षति पु¥याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र विभिन्न संघसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्य वर्षेनी कार्यक्रम हुदै आएका छन् ।
भुकम्प सुरक्षाको नाममा कार्यक्रमा मात्रै सिमित नगरी ३ वटै तह जिम्मेवारीपूर्ण रुपले अगाडि बढ्नु पर्ने, जसको नेतृत्व पलिकाले लिई तयारी र स्रोतको प्रबन्ध गर्नुपर्ने बताए । स्थानीय तहले जस्तो विपद आएपनि सामाना गरी अगाडि बढ्नु पर्छ ।
नारामा मात्र सिमित गर्नु भन्दा ठाँउ र सन्दर्भ अनुसारको संरचना निर्माण गर्नुपर्ने, बजेटलाई भुकम्पपछिको राहतमा खर्च गर्नु भन्दा पनि विपद आउनु भन्दा पहिला जानकारी हुने उपकरण र बच्नका लागि संरचना बनाउनु लगानी गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै वक्ताहरुले अधिकांस घरको संरचना उच्चभूकम्पीय जोखिममा रहेको बताउँदै भूकम्पीय जोखिमबाट जोगिन बलियो संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले अब बन्ने संरचनामा सम्बद्ध निकायले कडाई गर्नुपर्नेमा जोड दिए । भूकम्पबाट हुने जोखिम न्यूनीकरण गर्न ठोस कार्यक्रम तर्जुमाको खाँचो रहेकोले अव्यवस्थित र अनियन्त्रित विकासलाई वैज्ञानिक तरिकाले निर्माण गर्नुं पर्ने, प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रित गर्नु पर्ने, पुनर्निर्माण र भुकम्प प्रभावितलाई दिइने अनुदान वास्तविक पीडितसमक्ष नपुगेको एबं सुस्त र गतिहीन प्रशासन एवं राजनीतिकरणले पुनर्निर्माणको काम प्रभावित बनेको औल्याएका थिए ।
नेपाल भूकम्पीय जोखिम भएको देश हो भने विपद जोखिमा पनि उच्च स्थानमा नेपा रहेको छ । भुकम्पीय जोखिममा नेपाल विश्वको ११ औँ स्थानमा रहेको छ भने जलवायु परिवर्तनले हुने विपदमा छैठौं, जलउत्पन्न प्रकोपमा तेस्रो र विपदबाट हुने क्षतिको दृष्टिकोणले काठमाण्डौ पहिलो स्थानमा रहेको छ । विसं २०७२ बैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो । यस्तै गत कार्तिक १७ गते शुक्रबार राति गएको जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ, भने ठूलो संख्यामा भौतिक संरचनामा क्षति पुगेको छ ।
जिल्ला समनव्य समितका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यता, प्रजिअ अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका प्रमुख तथा प्रतिनिधी, निर्माण सम्बद्ध निकाय, विपद व्यवस्थापन शाखा, प्रविधिक शाखा, सुरक्षा निकायका प्रमुख, पत्रकार हरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सहायक प्रमुख जिल्लाअधिकारी रामचन्द्र रेग्मीले गरेका थिए ।
