भैरहवा । अवैध रुपमा मदिरा भित्रिदा व्यवसाय सञ्चालनमा समस्या आएको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले भारतबाट अवैध रुपमा नेपाल भित्रिने मदिराका कारण व्यवसायीलाई मात्र नभएर राजस्वमा समेत असर परेको बताए ।
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनमा बोल्दै व्यवसायीहरुले अवैध मदिरालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । शुक्रबार भैरहवामा भएको कार्यक्रममा बोल्दै मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले व्यवसायलाई व्यवस्थित गर्न संघले अग्रणी भूमिका निर्वाह गरेको बताए । उनले संस्थाले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिएको बताए । उनले वार्षिक कार्ययोजना तय गरेर संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको बताए । अध्यक्ष ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोखरेलले मदिरा व्यवसायी संघ भैरहवाले रचनात्मक कार्य गर्दै आएको बताए ।
मदिरा व्यवसायी संघ पाल्पाका अध्यक्ष अवैध रुपमा आयात हुने मदिरामा रोक लगाउनुपर्ने बताए । मदिरा व्यवसायी संघ भैरहवाका उपाध्यक्ष भागिरथ पाण्डेले धेरै रचनात्मक कार्य गरेर संघ नमूना संस्था बन्न सफल भएको बताए ।
सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले मदिरा व्यवसायी संघ र होटल एशोसियशनबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए । उनले अवैध रुपमा मदिरा भित्रिदा व्यवसायी मर्कामा परेको बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले नयाँ नेतृत्वले अझ सक्रियतापूर्वक काम गर्ने विश्वास व्यक्त गरे । सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले स्थापनाको छोटो अवधिमै मदिरा व्यवसायी संघ भैरहवाले धेरै काम गर्न सफल भएको बताए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले मदिरा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजानुपर्नेमा जोड दिए । चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले संगठित भएर अघि बढे समस्या समाधान गर्न सहज भएको बताए ।
मदिरा व्यवसायी संघ, भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले धेरै राम्रो काम गर्दै आएको संघले आफूलाई अब्बल संस्थाको रुपमा स्थापित गर्न सफल भएको बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अवैध रुपमा उत्पादन हुने मदिराले वैध रुपमा व्यवसाय सञ्चालन गरेका व्यवसायी मर्कामा परेको बताए ।
नेपाल मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईले अवैध रुपम विदेशी मदिरा भित्रिदा व्यवसायीलाई मात्र नभइ राज्यलाई पनि घाटा हुने बताए ।
आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले अवैध रुपमा मदिरा विक्रीवितरण गर्नेलाई कानूनको दायरामा ल्याउने कार्यमा कार्यालयलाई मदिरा व्यवसायी संघ, भैरहवाले सहयोग गरेको बताए । उनले नक्कली मदिरा उत्पादकलाई कारवाही गर्न सफल भएको बताए । उनले नयाँ नेतृत्वले अझ बढी सक्रियताका साथ गैरकानूनी कार्यलाई रोक्न आवश्यक सहकार्य गर्ने विश्वास लिएको बताए । उनले सूचना दिएर सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले अध्यक्षको प्रतिवेदन, महासचिव केशव कुँवरले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष यादव पोखरेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष ज्ञवालीको अध्यक्षता, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाको प्रमुख आतिथ्यता, मदिरा व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शम्भु भट्टराईको विशिष्ट आतिथ्यता, मदिरा व्यवसायी संघ भैरहवाका वरिष्ठ उपाध्यक्ष बाबुराम पाण्डेको स्वागत तथा महासचिव केशव कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा पत्रकार रबिन्द्र प्रताप गुप्तालाई नगदसहित सम्मान–पत्र र दोसल्लाबाट सम्मान गरेको छ । संघको गतिविधिहरुलाई समाचारको माध्यमबाट सम्प्रेषण गरी संस्थालाई अगाडि बढाउन योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको संघले जनाएको छ ।
अध्यक्षमा पाण्डे
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार भैरहवामा भएको अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि पाण्डेले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।
संघको वरिष्ठ उपाध्यक्ष भागिरथ पाण्डे, उपाध्यक्षमा केशव कुँवर, महासचिवमा यादव पोखरेल, सचिवमा तेज बहादुर खत्री, कोषाध्यक्षमा सुन्दर भण्डारी र सह–कोषाध्यक्षमा विनोद आचार्य निर्वाचित भएका छन् । निर्वाचन समिति सदस्य लक्ष्मण ज्ञवालीका अनुुसार संघको कार्यसमिति सदस्यहरुमा बसन्त पाण्डे, सन्तोष शर्मा, प्रकाश पाण्डे, रमेश धवल, विष्णु गौतम, गंगाराम पराजुली, पिताम्बर खनाल, सुनिल यादव र हेमराज पौड्याल निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समिति संयोजक तथा मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले सपथग्रहण गराएका थिए । नवनिर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै मदिरा व्यवसायी संघ, भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष बाबुराम पाण्डेले व्यवसायीका गुनासो सुन्दै सल्लाह–सुझाव लिएर अघि बढ्ने बताए । उनले संस्थालाई अझ अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीका अनुसार २०७७ सालमा स्थापना भएको संस्थामा हाल १५२ जना सदस्यहरु आबद्ध छन् ।
