दशैं लक्षित अनुगमनमा सिद्धार्थनगरबाट ४० लिटर तेल, २९ प्याकेट मसला नष्ट

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगरमा रहेका मिष्ठान (मिठाइ) पसलहरुमा अनुगमन गरेको छ । कार्यालयले नियमित बजार अनुगमन अन्र्तगत आइतबार मिष्ठान पसलहरुमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले नगरमा रहेको पवन मिष्ठान भण्डार, नन्दन स्विट्स, दिव्यम स्विट्स एण्ड स्नायक्स्, माखन भोग स्विट्स, साँवरिया र श्याम मिष्ठान भण्डारमा अनुगमन गरेको हो ।

अनुगमन गरिएको मध्ये नन्दन स्विट्स बाहेक सबै मिष्ठान पसलले उपभोग गर्न नमिल्ने खाने तेलको प्रयोग गरेको पाइएकोले तत्काल नष्ट कारवाही गरी सचेत गराइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितीको संयोजक उमा अधिकारीले बताइन् । टोलीले विभिन्न मिष्ठान पसलहरुमा पाएको अखाद्य ४० लिटर तेल नष्ट गरेको हो ।

तेलमा एक पटक कुनै समाग्री तारेपछि पटक पटक सोही तेलमा अन्य साम्रगी तारेमा उक्त तेल खाने योग्य हुदैन । र, उक्त पसलहरुले सोही किसिमका कार्य गरेको अनुगमनमा पाइएको थियो ।

त्यस्तै माखन भोग स्विट्समा म्याद गुज्रिएको ५० ग्रामको ८ प्याकेट कसुरी मेथी मसला र २१ प्याकेट चाट मसला बरामद भएपछि जफत गरी नष्ट गरिएको संयोजक अधिकारीले बताइन् ।

‘मिष्ठान पसलहरुमा प्रयोग गरिएको खाने तेलको नमुना परिक्षण गर्दा धेरै पटक प्रयोग गरिएको पाइएकोले उक्त तेल खान योग्य हुदैन’ खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक मनोज अधिकारीले भने, ‘त्यसैले बरामद तेल हामीले तत्काल नष्ट गरेका हौँ ।’

उनका अनुसार प्रयोग भएको तेलमा कुल पोलार म्याटरियल २५ प्रतिशत नबढेको हुनुपर्नेमा त्यो भन्दा बढी पाइएकोले तेल खान योग्य नरहेकोले नष्ट गरिएको हो ।

त्यस्तै अनुगमनको क्रममा मिष्ठान पसलहरुको भान्सा सरसफाई नराखिएको, साम्रगीहरु खुल्ला राखिएको, तेलमा पटक पटक विभिन्न साम्रगी तारिएको लगायत पाइएकोले पहिलो पटकको लागि सचेत गराइएको र पुनः पाइएमा थप कारवाही प्रक्रिया अगाडी बढाइने संयोजक अधिकारीले बताइन् ।

नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितीको संयोजक उमा अधिकारीको संयोजत्कवमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सिद्धार्थ उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय, नगरपालिकाको राजश्व शाखाको प्रतिनिधी, पत्रकार लगायत रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

हाम्रो बारेमा

प्रधान सम्पादकः सम्झना शर्मा
सम्पादकः ई सुवोध भट्टराई
सम्वादाताः शुष्मा खनाल

सम्वादाताः महेश गुप्ता
आई.टि.:  माेहम्म्द हबिब

 

 

सम्पर्क

एल. स्टार मिडिया प्रा.ली.
सिद्धार्थनगर नगरपालिका-०८, रुपन्देही
फोन: ९८५७०२४६७४
ईमेल: starkhanarnepal@gmail.com, samjhanaje@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३९८२/७९/८०

error: Content is protected !!