भैरहवा । खानपान र दैनिकीमा परिवर्तन तथा नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्न सके क्यान्सर रोगबाट बच्न सकिने बिज्ञहरुले औल्याएका छन् ।
नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजना तथा लुम्बिनी प्रेस क्लबको सहयोगमा शुक्रबार भैरहवामा आयोजित क्यान्सर सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै बिज्ञहरुले पछिल्लो समयमा नेपालमै सबै प्रकारको क्यान्सरको उपचार हुने भएपनि बिदेश ताक्ने प्रवृत्ति कायमै रहेको उल्लेख गर्दै देशभित्रै क्यान्सरको उपचार सर्वशुलभ गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ तथा नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले अहिले बर्षेनी २० हजारको संख्यामा नयाँ क्यान्सर रोगी थपिने गरेको र बर्षमा १३ हजारको संख्यामा यस रोगबाट ज्यान गुमाउने गरेको जानकारी दिए । उनले फोक्सो, पाठेघर, पेट, स्तन, मुख लगायतको ठाउँको क्यान्सरले मानिसहरुको ज्यान लिइरहेको तर पहिलो चरणमै उपचारमा आउने हो भने अपवादलाई छाडेर निको हुने दावी गरे ।
डा.श्रेष्ठले नेपालमा सबै प्रकारको क्यान्सर उपचार हुने गरेको भएपनि सबै नागरिकको पहुँचमा उपचार सेवा पुग्न नसकेको औल्याए । कतिपय औषधिहरु नेपालमा सजिलै आयात गर्न सकिदैन, चिकित्सकको प्रेस्किप्सन आवश्यक पर्छ, श्रेष्ठले भने, सरकारले औषधि नीति समय सापेक्ष गराउन र सबै प्रदेशहरुमा क्यान्सर परीक्षण सेवा बिस्तार गर्न आवश्यक रहेको छ ।
जनचेतना फैलाउन र समयमै परीक्षण गरी उपचारको दायरामा ल्याउन सके क्यान्सर उपचार कम खर्चमै हुने गरेको भएपनि तेश्रो चौथो चरणमा मात्र रोग पत्ता लाग्दा उपचार खर्च थेग्न नसकिने अवस्था रहेको डा.श्रेष्ठले जानकारी दिए । उनले सर्वसाधारणलाई सहज उपचार सेवा पु¥याउन बीमा मार्फत सम्पुर्ण उपचार खर्च उपलब्ध हुने नीति अवलम्बन गर्न आवश्यक रहेको औल्याए । डा. श्रेष्ठले अझैपनि क्यान्सर उपचारका लागि दक्ष जनशक्ति र उपकरण उपलब्धता नरहेको पनि बताए ।
नेपाल क्यान्सर अस्पतालका निर्देशक तथा क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष डा.स्वरुपा श्रेष्ठले क्यान्सरको नाम लिनासाथ डर त्रास फैलिने र हतोत्साही हुने प्रवृत्ति रहेको उल्लेख गर्दै आत्मबल बढाउन सके रोगलाई जित्न सकिने दावी गरिन् । उनले नेपालमै दक्ष जनशक्ति र अत्याधुनिक प्रविधि उपलब्ध भएपनि अझैपनि उपचारका लागि भारत जाने प्रवृत्ति रहेको र सोझा नेपालीहरु ठगिने गरेको पाईएको उल्लेख गर्दै राज्यले त्यसलाई रोक्न पहल गर्नुपर्ने बताईन् । धनी मानिसहरु पहिलो चरणको क्यान्सर उपचारका लागि बिदेश जाने र निको हुने गरेको तर पैसा नहुनेहरु तेश्रो चौथो चरणमा पुगेपछि मात्र अस्पतालको पहुँचमा जाँदा रोगलाई जित्न नसक्ने गरेको अनुभव उल्लेख गर्दै उनले घर खेत बेचेर उपचारमा खर्चिनुपर्ने अवस्था आउन नदिन शुरुवाती अवस्थामै रोग पत्ता लगाउनुपर्ने बताईन् ।
क्यान्सर रोग बिशेषज्ञ तथा बरिष्ठ सर्जन डा.प्रभात ठाकुरले धुम्रपान, मद्यपान, आनुबंशिक, पोषक तत्व, विकिरणजस्ता कारणले नाक, कान र घाँटीको क्यान्सर हुने गरेको उल्लेख गर्दै पहिलो चरणमै उपचारमा आएमा कम खर्चमा ९० प्रतिशत बिरामी निको पार्न सकिने बताए । तौल घट्ने, मुखमा लागेको घाउ लामो समयसम्म निको नहुने, रगत आउने, थकान लाग्ने जस्ता लक्षण देखिएमा क्यान्सर हुन सक्ने जानकारी दिदै डा. ठाकुरले क्यान्सरको शुरुवाती अवस्थामा रोग पत्ता लाग्न नसक्नु ठूलो समस्याको रुपमा रहेको औल्याए ।
स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धि बरिष्ठ बिशेषज्ञ डा. अनु शाक्य बज्राचार्यले पाठेघरको क्यान्सरबिरुद्ध खोप लगाउन सुझाव दिईन् । उनले बर्षमा एक पटक पाठेघरको जाँच गर्न आग्रह गर्दै पेट सम्बन्धि समस्या देखा परेमा आफै जान्ने भएर ग्याष्ट्रिकको औषधि खाएर बस्ने प्रवृत्ति रहेको उल्लेख गर्दै यससम्बन्धि ब्यापक जनचेतनाको खाँचो औल्याईन् ।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष तथा बरिष्ठ पत्रकार दिलिप भट्टराईले पछिल्लो दिनमा क्यान्सर रोग भयावह बन्दै गैरहेको बताए । उनले विश्वभर प्रत्येक बर्ष क्यान्सरका ३ करोड बिरामी थपिने र २ करोडको मृत्यु हुने गरेको जानकारी दिदै खानपान र जीवनशैली परिवर्तन गरी नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिए । क्यान्सर रोग नियन्त्रणका लागि क्यान्सर सपोर्ट ग्रुपमार्फत जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको र बिरामीहरुलाई आत्मबल प्रदान गर्न सके रोगलाई जित्न सकिने पनि भट्टराईले औल्याए ।
कार्यक्रममा लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले ब्यस्त दैनिकी, रिपोर्टिङ्गमा खट्दा खानपानमा ख्याल गर्न नसकिने अवस्था र पेशागत हिसावले पत्रकारहरु पनि क्यान्सरको जोखिममा रहेको उल्लेख गर्दै भैरहवामा कार्यक्रम आयोजना गरेकोमा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर एवं बिशेषज्ञ चिकित्सकहरुलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रमको संचालन क्लबका सचिव प्रकाश न्यौपानेले गरेका थिए ।
