भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ र १३ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा आएको छ । नगरपालिको वडा नम्बर ५ र १३ को कार्यालयले संयुक्त रुपमा आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याएका हुन् । यससँगै नगरपालिकाको छैठाैँ आधारभुत स्वास्थ्य सेवा केन्द्रमा सेवा सुरू भएकाे छ ।
वडावासीहरुलाई दैलोमै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले वडा नम्बर ५ र १३ को कार्यालयको भवनमा आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याईएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।
वडा नम्बर ५ र १३ को कार्यालय रहेको भवनमा आयोजित एक कार्यक्रमका बीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरे ।
संचालनमा आएको केन्द्रबाट बालबालिका खोप, परिवार योजना, गर्भवती, सुत्केरी जाँच, बालबालिकाको तौल बृद्धि अनुगमन जाँच, जेष्ठ नागरिक सेवा लगायत प्रदान गरिने वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए ।
उनले आफुहरुले मात्रै नभई सिंगो नगरपालिकाको कार्यालयको साथले वडामा केन्द्र संचालनमा ल्याउन सकिएको बताए । उनले वडा नम्बर ५ र १३ ले संयुक्त रुपमा केन्द्र संचालनमा ल्याएपनि अन्य वडावासीले पनि केन्द्रबाट सेवा लिन सक्ने बताए ।
उनले आगामी दिनमा सेवा केन्द्रमा महिनामा एक पटक विशेषज्ञ सेवा पनि प्रदान गर्ने लक्ष्य रहेको बताए । आफुहरु वडा÷नगरवासीहरुकै हितमा सेवा गर्नका लागि आएको भन्दै समृद्ध नगर निर्माण नगरवासीमा पनि सचेतना हुनुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले ज्वरो, रुघा जस्ता समान्य स्वास्थ्य समस्या र परमार्शका लागि अस्पताल÷क्लिनिकमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न र प्रत्येक वडावासीलाई आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र संचालनमा ल्याईएको बताए ।
वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले आफ्नो वडामा पनि आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनको तयारी रहेको भन्दै यस केन्द्रबाट वडावासीहरु लाभान्वित हुने बताए ।
सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख गितादेवी न्यौपानेले आधारभुत स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवा केन्द्रबाट प्रदान हुने बताइन् । जसका लागि नगरपालिकाबाट केन्द्रमा स्वास्थ्यकर्मीहरु खटाइएको छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पैड्यालले यी वडासँगै नगरको ७ वटा केन्द्र संचालनमा रहेको र अगामी दिनमा अन्य वडामा पनि केन्द्र संचालनमा आउने जानकारी दिए । उनले स्वास्थ्य केन्द्रबाट वडा÷नगरवासी मात्रै नभई अन्य पालिकावासीले पनि सेवा लिन सक्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले संचालनमा आएको आधारभुत स्वास्थ्य सेवा केन्द्रले नगरवासीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्दै अगामी दिनमा सेवा थप विस्तार गरिदै लैजाने बताए । उनले स्वास्थ्य क्षेत्र नगरपालिकाको कार्यालय गम्भिर रहेको भन्दै यस किसिमका योजनाहरु संचालन गर्दै लगिने बताए ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, भैरहवा नमुना उच्च मावि व्यवस्थापन समितीका अध्यक्ष आनन्द प्रसाद गुप्ता, समाजसेवी विजयगोविन्द श्रेष्ठ लगायत केन्द्र संचालनमा आएको खुशी व्यक्त गर्दै अन्य वडाहरुमा पनि आधारभुत स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याउनु पर्ने बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को वडासदस्य सरस्वती श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ र वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ्गको अध्यक्षता, वडासदस्यहरु, स्थानीय दिपेन्द्र बुढापृति, प्रशान्त मल्ल, प्रकाश खड्का लगायतको सहभागिता रहेको थियो ।
