भैरहवा । उद्योगी व्यवसायीले निजी क्षेत्रको करोडौँ लगानी जोखिममा रहेको बताएका छन । शनिबार भैरहवामा भएको चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनमा बोल्दै उनीहरुले सरकार र बैंकको कारणले उद्योग व्यवसाय गर्नेहरु पनि अहिले पेशा छाडेर विदेश पलायन हुने अवस्थाको सिर्जना भएको बताए । सरकारले निजी क्षेत्रको संरक्षण गर्नुपर्ने ठाँउमा कुरा पनि सुन्ने नचाहेको उद्योगी व्यवसायीको गुनासो छ ।
नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले सरकारको भर पर्दा अरबौंको लगानीमा जोखिममा परेको बताए । उनले सरकार भन्दा बढि निजी क्षेत्रको लगानी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रित भई भएको बताउदै संचालन हुने आशमा ती लगानी जोखिममा रहेको बताए । देशलाई आर्थिक रुपमा समृद्ध बनाउने निजी क्षेत्रका उद्योग व्यवसाय नै रहेकोले अहिले व्यवसाय बचाउन र टिकाउने जस्तो संकटको बेला बैंकले तनाव दिनु उचित नभएको बताए ।
हामीले पैसा नर्तिने भनेका हैनौ तर अहिलेको परिस्थितीलाई हेरेर बैंकले पनि समन्वकारी भूमिका खेलेर सहयोग गर्नुपर्ने ठाँउमा ज्यादती नै गरेको पाइएको उनले भने । चर्को बैंक ब्याजदरले उद्योगी व्यवसायी पीडित भएको ले विषम परिस्थितिमा बैंकबाट सहयोग हुनुपर्नेमा बैंकले ब्याजदर बढाएको बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले उद्योगी व्यवसायीको हरेक पाइलामा आफू साथ रहेको बताए । उनले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । नगरप्रमुख खानले भने, ‘पढेलेखेको जनशक्ति विदेश पलायन हुनु चिन्ताजनक अवस्था हो । ’उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने र यसका लागि दबाब दिन आन्तरिक उडान समेत बन्द हुने चेतावनी दिए ।
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले उद्योगी व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘प्रत्येक पाइलामा साथ दिन्छौं ।’ नगर उपप्रमुख अधिकारीले महिलालाई पनि हरेक क्षेत्रमा अवसर दिनुपर्नेमा जोड दिइन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्यापार घाटा र विदेशिने नेपालीको संख्या बढेको बताए । उनले आफू रुपन्देहीको परिवारको सदस्यको रुपमा आएकोले मर्यादित व्यवसाय प्रवद्र्धनमा उद्योगी व्यवसायीको साथ, समन्वय आवश्यक रहेकोमा जोड दिए ।
चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले राज्यले निजी क्षेत्रसँग सम्बन्धित कानून बनाउने समयमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग रायसल्लाह गरी निजी क्षेत्रमैत्री कानून निर्माण गर्नुपर्ने बताए । उनले उद्योगी व्यवसायीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने माग गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उनले थुप्रै व्यवसायिक प्रतिष्ठान बन्द भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले अहिलेको अवस्था उद्योगी व्यवसायीको कारणले सिर्जना नभएको बताए । अध्यक्ष श्रेष्ठले आफ्ना माग पूरा गराउन उद्योगी व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्श, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारी, लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्मा लगायतले सरकारले निजी क्षेत्रको आवाज सुन्ने नचाहेको, उद्यमशीलतालाई प्राथमिकता दिएर व्यापार घाटा कम गर्न सकिने र स्वदेशी वस्तुको प्रवद्र्धन गर्न राज्यको भूमिका महत्वपूर्ण हुने बताए ।
कार्यक्रम चेम्बर अफ कमर्श, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
साे अवसरमा पत्रकार रबिन्द्र प्रताप गुप्ता सहित उद्योगी, व्यवसायी, संस्थाका आजीवन सदस्यहरुलगायतलाई सम्मान गरेको छ ।
अध्यक्षमा दर्पण
उद्योग व्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्श) को अध्यक्षमा दर्पण श्रेष्ठ निर्वाचित भएका छन् । संगठनको ८औं अधिवेशनबाट आगामी कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।यस्तै संगठनको बरिष्ठ उपाध्यक्षमा सचिन रोक्का, उद्योग उपाध्यक्षमा मधुसुदन अर्याल, बाणिज्य उपाध्यक्षमा राममिलन यादव, महासचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा सुरेन्द्रकुमार पाण्डेय, सचिवमा गौतमकुमार गुप्ता र कृष्णप्रसाद पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सहकोषाध्यक्षमा सन्तोष शुक्ला, एशोसियट सदस्यमा रामअवध गुप्ता चयन भएका छन् ।
संगठनको उद्योग सदस्यतर्फ प्रभुप्रसाद यादव, रामप्रसाद भण्डारी, सिकन्दर अलि धुनिया र रामप्रसाद श्रेष्ठ चयन भएका छन् । यसैगरी वाणिज्य सदस्यतर्फ गोविन्द सापकोटा जैसी, कृष्णप्रसाद मरासीनी, दिनेश गुप्ता, र धिरजकुमार मल्लिक निर्वाचित भएका छन् । संगठनको महिला सदस्यमा माया खनाल र मिनिता थापा चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
